काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री बालेन साहले दुई छिमेकी मुलुकका राजदूतहरूसँग अलग–अलग गरेको शिष्टाचार भेटलाई लिएर ठूलो महत्वका साथ भइरहेको चर्चा–परिचर्चा निरर्थक रहेको बताएका छन् ।
सामाजिक संजालमार्फत थापाले यसलाई धेरै ठूलो विषय बनाएर चर्चा गरिरहनुपर्ने कुनै कारण नभएको बताएका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री बालेन साहले दुई छिमेकी मुलुकका राजदूतहरूसँग अलग–अलग गर्नुभएको शिष्टाचार भेटलाई लिएर ठूलो महत्वका साथ भइरहेको चर्चा–परिचर्चा निरर्थक छ । प्रधानमन्त्री नियुक्त हुनासाथ राजदूतहरूसँग सामूहिक भेटघाट गर्नुभएको थियो, जुन स्वाभाविक नै थियो। अहिले अनुकूल समयमा उहाँहरूसँग अलग–अलग भेट्नुभएको छस यसलाई धेरै ठूलो विषय बनाएर चर्चा गरिरहनुपर्ने कुनै कारण छैन।’
उनले आवश्यकता अनुसार प्रधानमन्त्रीले राजदूत भेट्नु एकदमै स्वाभाविक भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आफूलाई विद्वान् र विश्लेषक ठान्ने कतिपयले प्रधानमन्त्रीले आफ्नो गल्ती सुधारेको टिप्पणी गरेका छन् भने कसैले उहाँलाई स्याबासी र प्रशंसा दिएका छन्। यी सब हाम्रा हीन मानसिकताका परिणाम हुन् । राजदूतहरूले परराष्ट्रमन्त्रीलाई भेट्नु कुनै नौलो समाचार नै होइन—उनीहरूको काम नै त्यही हो। आवश्यकता अनुसार प्रधानमन्त्रीले पनि भेट्नु एकदमै स्वाभाविक हुन्छ। त्यसैले, यस्ता सामान्य भेटघाटहरूलाई अतिरञ्जित ढङ्गले व्याख्या र विश्लेषण गरिरहनु आवश्यक छैन। राजदूतले मन्त्री÷प्रधानमन्त्रीलाई भेटेको विषयलाई राष्ट्रिय महत्वको समाचार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’