काठमाडौं: नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय र सर्वोच्च अदालतबाट कानुनी वैधानिकता पाउन अझै बाँकी नै रहेको एनसेलको विवादित सेयर कारोबारलाई बेलायतमा भने शतप्रतिशत आधिकारिकता दिँदै वित्तीय लेखापरीक्षण (अडिट) समेत सम्पन्न गरिएको तथ्य फेला परेको छ ।
मलेसियन कम्पनी आजियाटासँग एनसेल खरिदबिक्रीको सम्झौता गरेका नेपाली व्यवसायी सतिशलाल आचार्य सञ्चालक रहेको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलको सम्पूर्ण कारोबार, आम्दानी, नाफा र सञ्चालनलाई आफ्नै खातामा देखाएर डिसेम्बर २०२४ सम्मको एकीकृत वित्तीय विवरण बनाइसकेको पाइएको हो ।
नेपालको कानुनअनुसार कुनै पनि दूरसञ्चार सेवा प्रदायक कम्पनीको सेयर खरिदबिक्री गर्दा नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति लिनुपर्छ । पुँजीगत लाभकरसम्बन्धी कानुनी प्रक्रिया पूरा गरेर कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएपछि मात्रै कारोबारले वैधानिकता पाउँछ ।
तर, यी सबै प्रक्रिया रोकिएकै र विवादित बनेकै अवस्थामा लन्डनको वान फ्लिट प्लेसस्थित दर्ता नम्बर १५१६६६७३ रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले भने बेलायतको कम्पनी ऐन २००६ को दफा ४१४ 'ए' अनुसार आफ्नो ग्रुप स्ट्र्याटेजिक रिपोर्ट र लेखापरीक्षण प्रतिवेदन तयार पारेको छ । लन्डनस्थित प्यान एन्ड कम्पनी (पार्टनर्स) एलएलपी नामक स्वतन्त्र लेखापरीक्षकबाट गराइएको उक्त लेखापरीक्षणमा एनसेललाई स्पेक्ट्रलाइटको मुख्य सहायक कम्पनीका रूपमा स्वीकार गर्दै त्यसको आर्थिक तथा सञ्चालन गतिविधि समावेश गरी सर्वसम्मत रूपमा क्लीन चिट दिइएको छ।
उक्त आधिकारिक दस्तावेज अनुसार २६ सेप्टेम्बर २०२३ मा नियुक्त भएका सञ्चालक सतिशलाल आचार्यको नेतृत्वमा रहेको स्पेक्ट्रलाइटले एनसेलको ८० प्रतिशत स्वामित्व लिएपछिको १३ महिना (डिसेम्बर २०२४ सम्म) को अवधिमा २१ करोड ५० लाख बेलायती पाउण्ड (करिब ३६ अर्ब नेपाली रुपैयाँ) आम्दानी गरेको देखाएको छ । यो अघिल्लो वर्ष एनसेलको स्वामित्व लिनुअघिको २२ करोड ४६ लाख पाउण्डको तुलनामा ४.३ प्रतिशतले कम भएको दाबी गरिएको छ ।
कम्पनीको सञ्चालन मुनाफा ५१ प्रतिशत रहेको, ग्राहक संख्या १ करोड २३ लाख ९० हजार पुगेको र फोरजी पहुँच ९२ प्रतिशत क्षेत्रमा विस्तार भएको विवरण प्रतिवेदनमा उल्लेख छ । यसबाहेक ३१ डिसेम्बर २०२४ सम्म कम्पनीसँग २ करोड ९९ लाख बेलायती पाउण्ड (करिब ५ अर्ब नेपाली रुपैयाँ) नगद मौज्दात रहेको र वातावरणीय उत्तरदायित्व अन्तर्गत कार्बन उत्सर्जन २.५ प्रतिशतले घटाएको विषय समेत लेखापरीक्षण प्रतिवेदनमा समेटिएको छ ।
प्रतिवेदनमा कम्पनीले नेपालको बजारलाई अत्यन्तै सम्भावनायुक्त तर जोखिमपूर्ण मानेको छ । नेपालको कुल जनसङ्ख्यामध्ये ६० प्रतिशतभन्दा बढी ३० वर्ष मुनिका युवा रहेको र प्रविधिको माग उच्च रहेकाले भ्वाइस सेवाबाट डिजिटल तथा डेटा सेवातर्फ रूपान्तरण भइरहेको जनाइएको छ ।
कम्पनीले भिजन २०३० नाम दिएर नेपालमा फाइभजी परीक्षण, घर-घरमा फाइबर विस्तार गर्ने ५ लाख घरधुरीको लक्ष्य, डिजिटल सार्वजनिक पूर्वाधारको विकास र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत सञ्चालन खर्च घटाउने रणनीति बनाएको छ । त्यस्तै, एनसेल फाउन्डेसनमार्फत नेपालका दुर्गम क्षेत्रमा टेलिमेडिसिन र शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेको विवरण पनि बेलायतमै पेस गरिएको छ ।
यद्यपि, प्रतिवेदनको मुख्य जोखिम र अनिश्चितता शीर्षक अन्तर्गत कम्पनीले नेपालको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्बन्ध, नीतिगत परिवर्तन, अनुमतिपत्र (लाइसेन्स) नवीकरणको स्पष्टता, साइबर सुरक्षा, नेपाली रुपैयाँ र अमेरिकी डलरबीचको विनिमय दरमा हुने उतारचढाव तथा प्रतिस्पर्धी बजारलाई ठूलो वैदेशिक चुनौतीका रूपमा स्वीकार गरेको छ ।
यस्ता जोखिमहरूलाई दूरसञ्चार प्राधिकरणसँग संवाद र साझेदारी गरेर समाधान गर्ने, सम्भावित नोक्सानी पन्छाउन अग्रिम सम्झौता र आन्तरिक रणनीति अपनाउने तथा वित्तीय तरलता जोगाउन 'स्ट्रेस टेस्टिङ' गर्ने दाबी कम्पनीको छ ।
नेपालका राज्य संयन्त्र, अदालत र नियमनकारी निकायहरूले यो कारोबारलाई अनधिकृत र 'कागजात अपूर्ण' भनेर कानुनी दायरामा ल्याउन खोजिरहेका बेला, बेलायतको संस्थागत प्रणालीमा भने एनसेलको सम्पूर्ण वित्तीय चक्र, आम्दानी, कर विवरण, र सञ्चालन रणनीतिलाई शतप्रतिशत कानुनी मान्यता दिएर लेखापरीक्षण भइसकेको छ।
यसले एकातिर अन्तर्राष्ट्रिय बजार र बेलायती कानुनको प्रयोग गरेर स्वामित्व हस्तान्तरणलाई औपचारिकता दिने प्रयास भएको देखाउँछ भने अर्कातिर नेपालको कानुनी राज्य, राजस्व प्रशासन र नियामक निकायहरूको क्षेत्राधिकारमाथि तथा क्षमतालाई चुनौती दिएको छ ।
एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले आफ्नो सञ्चालक समितिको प्रतिवेदन र वातावरणीय, सामाजिक तथा सुशासन सम्बन्धी एकीकृत दस्ताबेज आधिकारिक रूपमा स्वीकृत गरेको छ । १ अप्रिल २०२६ मा सञ्चालक सतिशलाल आचार्यद्वारा हस्ताक्षरित र लन्डनस्थित प्यान एन्ड कम्पनी (पार्टनर्स) एलएलपीद्वारा स्वीकृत विवरण अनुसार, २६ सेप्टेम्बर २०२३ देखि ३१ डिसेम्बर २०२४ सम्मको अवधिमा कम्पनीले कर र अल्पसंख्यक सेयरधनीको हिस्सा कटाएर ९ करोड ९ लाख ८३ हजार बेलायती पाउण्ड (करिब १५ अर्ब नेपाली रुपैयाँभन्दा बढी) खुद नाफा कमाएको छ ।
बेलायतको स्टिमलाइन्ड इनर्जी एन्ड कार्बन रिपोर्टिङ ढाँचा र कम्पनी ऐन २००६ अनुसार तयार पारिएको उक्त प्रतिवेदनमा नेपालको एनसेल सञ्चालनबाट प्राप्त वातावरणीय प्रभाव, इन्धन खपत, ऊर्जा दक्षता र सामाजिक कार्यक्रमहरूको विस्तृत विवरण पेस गरिएको छ।
बेलायतको कानुनअनुसार 'ठूलो कम्पनी'का रूपमा दर्ता भई वित्तीय प्रतिवेदन बुझाएको स्पेक्ट्रलाइटले यस अवधिमा आफ्ना सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगरेको र प्राप्त नाफालाई कम्पनीको दीर्घकालीन सञ्चालनमै राखेको देखाएको छ ।
प्रतिवेदनले पेस गरेको वातावरणीय विवरण अनुसार, सन् २०२४ को १२ महिनामा एनसेलका टावर तथा सञ्चालन प्रणालीले कुल ४ हजार ४ सय ६५ दशमलव ५५ टन कार्बन उत्सर्जन गरेका छन् । जसमध्ये नेपालका टावरहरूमा ब्याकअपका रूपमा प्रयोग हुने इन्धनबाट कुल २ हजार ६ सय २३ टन कार्बन उत्सर्जन भएको छ ।
यसका लागि १ लाख ७३ हजार ७६ लिटर पेट्रोल र ८ लाख ३२ हजार ६ सय ६१ लिटर डिजेल खपत भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, नेपाल विद्युत् प्राधिकरण र अन्य स्रोतबाट खरिद गरिएको ६ करोड ८२ लाख २२ हजार ४ सय २३ किलोवाट आवर बिजुलीबाट १ हजार ८ सय ४२ टन कार्बन उत्सर्जन भएको देखाइएको छ । कम्पनीले आफ्नो ऊर्जा तीव्रता अनुपात प्रति १ पाउण्ड आम्दानी बराबर ०.३२ किलोवाट आवर रहेको र नेपालको जलविद्युत् मुख्य स्रोत भएकाले सोही अनुसार उत्सर्जन मापन गरिएको जनाएको छ ।
कम्पनीले वातावरणीय जोखिम र कार्बन उत्सर्जन घटाउन नेपालका विकट क्षेत्रमा रहेका अफ-ग्रिड टावरहरूमा डिजेलको प्रयोग घटाई सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणाली जडान गर्ने, सवारी साधनहरूलाई विद्युतीय रूपमा रूपान्तरण गर्ने, र डेटा सेन्टरको शीतलन सुधार गर्ने रणनीति लिएको छ।
यद्यपि, कर्मचारीहरूले व्यक्तिगत सवारी साधन व्यवसायिक काममा प्रयोग गर्दा इन्धनको सोधभर्ना वा भुक्तानी नगर्ने नीति रहेकाले र कर्मचारीको व्यापारिक भ्रमणसम्बन्धी दायराको तथ्यांक संकलन भइरहेकाले यस वर्षको प्रतिवेदनमा सो उत्सर्जन समावेश नगरिएको स्पष्ट पारिएको छ ।
सामाजिक उत्तरदायित्वका सन्दर्भमा, एनसेल फाउन्डेसनमार्फत संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य अन्तर्गत गुणस्तरीय शिक्षा, लैङ्गिक समानता र असमानता न्यूनीकरणका क्षेत्रमा काम भइरहेको प्रतिवेदनमा दाबी गरिएको छ।
दुर्गम क्षेत्रका अस्पतालहरूसँग मिलेर टेलिमेडिसिन तथा स्वास्थ्य सूचना प्रणाली सञ्चालन गरिएको, ग्रामीण भेगका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको र महिलाहरूका लागि प्रौढ साक्षरता कार्यक्रम सञ्चालन गरिएको विवरण बेलायती नियामक निकायसमक्ष पेस गरिएको छ ।
अन्तर्राष्ट्रिय दिगोपना मानक बोर्ड र जलवायु सम्बन्धी वित्तीय खुलाशा कार्यदलको सिद्धान्त अवलम्बन गरिएको दाबी गर्ने स्पेक्ट्रलाइटले जलवायु परिवर्तन, साइबर सुरक्षा र तरलता व्यवस्थापनलाई आन्तरिक जोखिम रजिस्टरमा राखेर व्यवस्थापन गरिरहेको जनाएको छ । नेपालमा सेयर खरिदबिक्रीको वैधानिकता र करसम्बन्धी कानुनी प्रक्रिया पूर्ण नभई अलपत्र परिरहेका बेला, बेलायतमा भने कम्पनीले करिब १५ अर्ब रुपैयाँ खुद नाफा, अर्बौँको इन्धन खपत, ऊर्जा प्रयोग र सामाजिक कार्यक्रमको एकीकृत लेखापरीक्षण सम्पन्न गरी आधिकारिक रूपमा प्रस्तुत गरिसकेको छ ।
एनसेलको सेयर कारोबारले कानुनी वैधानिकता पाउन बाँकी नै रहेका बेला, बेलायतस्थित स्वतन्त्र लेखापरीक्षकले भने एनसेलको खरिदकर्ता कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेड र यसका सहायक कम्पनीहरूको वित्तीय विवरणलाई शतप्रतिशत कानुनी र निष्पक्ष मान्दै सर्वसम्मत रूपमा 'क्लीन चिट' दिएका छन्।
बेलायतको लन्डनस्थित स्वतन्त्र लेखापरीक्षण संस्था 'प्यान एन्ड कम्पनी (पार्टनर्स) एलएलपी' ले स्पेक्ट्रलाइट युके लिमिटेड (माउ कम्पनी) र एनसेलसमेत सम्मिलित सम्पूर्ण समूहको ३१ डिसेम्बर २०२४ सम्मको एकीकृत वित्तीय प्रतिवेदनको सूक्ष्म परीक्षण गरी आफ्नो आधिकारिक राय सार्वजनिक गरेको हो।
लेखापरीक्षकहरूले सार्वजनिक गरेको निष्कर्ष अनुसार स्पेक्ट्रलाइट युके लिमिटेड र यसका सहायक कम्पनीहरूको एकीकृत नाफानोक्सान हिसाब, एकीकृत विस्तृत आम्दानी विवरण, एकीकृत वित्तीय अवस्थाको विवरण, माउ कम्पनीको वित्तीय अवस्थाको विवरण, सेयर पुँजीमा भएको परिवर्तनको विवरण, एकीकृत नगद प्रवाह विवरण र पाना नम्बर ४५ देखि ६३ सम्म उल्लेख गरिएका मुख्य लेखा नीतिहरूसहितका सम्बन्धित टिप्पणीहरूको विस्तृत अनुसन्धान गरिएको छ ।
उक्त अनुसन्धानका आधारमा ३१ डिसेम्बर २०२४ सम्मको सम्पूर्ण समूह र माउ कम्पनीको आर्थिक स्थिति, सम्पत्ति, दायित्व तथा सोही अवधिमा कमाएको नाफाको विवरणले पूर्ण रूपमा सत्य, यथार्थ र निष्पक्ष चित्र पेस गरेको लेखापरीक्षकहरूको ठहर छ ।
प्रतिवेदनमा स्पेक्ट्रलाइटको एकीकृत वित्तीय विवरण बेलायतले अपनाएको अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र बेलायती कम्पनी ऐन २००६ को आवश्यकता अनुसार कानुनी प्रक्रिया पूरा गरी तयार पारिएको स्पष्ट पारिएको छ ।
साथै मुख्य माउ कम्पनीको वित्तीय विवरण बेलायतमा प्रचलित कानुन तथा सर्वस्वीकार्य लेखा सिद्धान्त अन्तर्गत एफआरएस १०१ को ढाँचा अनुसार तयार पारिएको छ । कम्पनीका सम्पूर्ण वित्तीय कागजातहरू बेलायती कम्पनी ऐन २००६ र आइएएस नियमको धारा ४ को प्रावधान अनुकूल रहेको प्रमाणित गरिएको छ ।
आफ्नो रायको आधार स्पष्ट पार्दै लेखापरीक्षकहरूले बेलायतको 'फाइनान्सियल रिपोर्टिङ काउन्सिल' को मापदण्ड र अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड अनुसार पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष रहेर अनुसन्धान गरिएको जनाएका छन् ।
कम्पनीले पेस गरेका वित्तीय प्रमाण, आम्दानीका स्रोत र आन्तरिक लेखा प्रणालीहरू पर्याप्त र उपयुक्त रहेकाले नै वित्तीय विवरणलाई आधिकारिक मान्यता दिइएको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीलाई लिएर सरकारी तथा नियमनकारी निकायहरूमा कानुनी प्रश्न र अन्योल कायमै राखिएको भए पनि, अन्तर्राष्ट्रिय स्तरमा भने बेलायतका लेखापरीक्षकहरूले सोही कारोबार र एनसेलको वित्तीय गतिविधिलाई कानुनी रूपमा शुद्ध र वैधानिक ठहर गरिदिएका छन् ।
बेलायतमा दर्ता भई एनसेलको माउ कम्पनीका रूपमा सञ्चालित स्पेक्ट्रलाइट युके लिमिटेड (दर्ता नम्बर १५१६६६७३, वान फ्लिट प्लेस, लन्डन) ले ३१ डिसेम्बर २०२४ सम्मको आफ्नो पहिलो एकीकृत वित्तीय प्रतिवेदनका मुख्य लेखा नीतिहरू सार्वजनिक गरेको छ।
२६ सेप्टेम्बर २०२३ मा स्थापना भएको यो कम्पनीको मुख्य व्यावसायिक उद्देश्य नेपालमा मोबाइल दूरसञ्चार सेवा सञ्चालन गर्नु र इन्भेस्टमेन्ट होल्डिङ कम्पनीका रूपमा कार्य गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ। कम्पनीले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड र बेलायती कम्पनी ऐन २००६ अनुसार तयार पारेको विवरणमा एनसेलको राजस्व संकलन, टावर भाडा, कर्मचारी सुविधा, कर प्रणाली, सम्पत्ति ह्रासकट्टी र वातावरणीय पुनर्स्थापना सम्बन्धी सम्पूर्ण लेखा नीतिहरू समेटिएका छन् ।
स्पेक्ट्रलाइटले बेलायती कम्पनी ऐन २००६ को दफा ४०८ अन्तर्गत पाइने विशेष छुटको प्रयोग गर्दै आफ्नो छुट्टै नाफा-नोक्सान हिसाब पेस नगरी एकीकृत वित्तीय विवरण प्रस्तुत गरेको छ । कम्पनीले नगद प्रवाह, व्यवसायी खरिद खुलासा, र मुख्य व्यवस्थापकको पारिश्रमिक सम्बन्धी केही छुट्टै विवरणहरूमा छुट लिएको छ । यो विवरणहरू एकीकृत प्रतिवेदनमा समावेश भइसकेका छन् ।
सञ्चालक समितिले आगामी कम्तीमा १२ महिना र १ दिनसम्म कम्पनी निरन्तर सञ्चालन हुन सक्ने निष्कर्ष निकालेका छन् । यसका लागि कम्पनीका सेयरधनीले आगामी १२ महिनासम्म आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने औपचारिक प्रतिबद्धता पत्र ('लेटर अफ सपोर्ट') प्रदान गरिसकेका छन् भने सन् २०२९ सम्मका सम्भावित जोखिमको समीक्षा गर्दा पनि कुनै वित्तीय संकट नदेखिएको प्रतिवेदनमा जनाइएको छ ।
नेपालभर राखिएका दूरसञ्चार टावर र संरचनाहरू भाडा अवधि समाप्त भएपछि हटाएर जग्गा वा संरचनालाई साविककै अवस्थामा फर्काउनुपर्ने कानुनी दायित्व कम्पनीमाथि छ । यस्ता संरचनाहरू आगामी २१ देखि २६ वर्षभित्र हटाइने अनुमान गरिएको छ ।
३१ डिसेम्बर २०२४ सम्मको मुद्रास्फीति र वार्षिक ६.८३ प्रतिशत देखि १०.२५ प्रतिशतसम्मको डिस्काउन्ट दर प्रयोग गरी वातावरणीय दायित्वको वर्तमान मूल्य निकालिएको छ । यो रकमलाई सम्पत्तिको लागतमा पुँजीकृत गरी टावरको जीवनकालभर ह्रासकट्टी गर्ने नीति लिइएको छ ।
नेपालमा एनसेलको स्वामित्व हस्तान्तरण र कानुनी प्रक्रियालाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा बहस भइरहे पनि, बेलायतको कम्पनी ऐन र अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड अनुसार स्पेक्ट्रलाइट युके लिमिटेडले आफ्ना सम्पूर्ण सञ्चालन, आम्दानी, सम्पत्ति र वातावरणीय दायित्वको विस्तृत र कानुनी हिसाब किताब पूर्ण रूपमा सार्वजनिक गरेको देखिन्छ ।
एनसेलको स्वामित्व खरिद गरेको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले ३१ डिसेम्बर २०२४ सम्मको आफ्नो एकीकृत वित्तीय विवरणका महत्त्वपूर्ण परिच्छेदहरू (नोट १६ देखि २७ सम्म) सार्वजनिक गर्दै कम्पनीको कुल सम्पत्ति, दायित्व, ऋण र लगानीको विस्तृत विवरण प्रस्तुत गरेको छ।
वित्तीय विवरण अनुसार स्पेक्ट्रलाइटले मुख्यतया दुईवटा सहायक कम्पनीहरू नेभिसमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ्स लिमिटेड र नेपालमा दर्ता भई सञ्चालित एनसेल आजियाटा लिमिटेडमार्फत आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरेकफो छ । स्पेक्ट्रलाइटले रेनोल्ड्समा ५ करोड ३१ लाख ८४ हजार बेलायती पाउण्ड लगानी गरी एनसेलमा ८० प्रतिशतको सेयर स्वामित्व कायम गरेको दाबी छ ।
कम्पनीको मौज्दात (इन्भेन्टरी) अन्तर्गत मुख्यतया सिमकार्ड र अन्य प्रविधि सामग्रीहरू रहेका छन्। सन् २०२४ को अन्त्यसम्ममा ३ लाख ५२ हजार पाउण्ड बराबरको सिमकार्ड र ९६ हजार पाउण्ड बराबरका अन्य सामग्री गरी कुल ४ लाख ४८ हजार पाउण्ड (करिब ७ करोड ५० लाख नेपाली रुपैयाँ) को मौज्दात रहेको छ।
यस अवधिमा कुल २६ लाख ७६ हजार पाउण्ड बराबरको मौज्दात बिक्री खर्चका रूपमा हिसाब गरिएको छ। व्यापारिक तथा अन्य प्राप्य रकमतर्फ कम्पनीको कुल रकम ९ करोड ९५ लाख ९३ हजार बेलायती पाउण्ड (करिब १६ अर्ब ६५ करोड नेपाली रुपैयाँ) पुगेको छ।
यसमा ग्राहक तथा सेवाप्रदायकहरूबाट उठाउन बाँकी १ करोड ९२ लाख ६१ हजार पाउण्डमध्ये ३७ लाख ९१ हजार पाउण्ड सम्भावित जोखिम (इम्पेयरमेन्ट) कटाएर खुद १५ लाख ४७ हजार पाउण्ड व्यापारिक प्राप्य देखाइएको छ। यसबाहेक ६८ लाख १६ हजार पाउण्ड पूर्वभुक्तानी, ५ करोड ७६ लाख ७८ हजार पाउण्ड (करिब ९ अर्ब ६५ करोड नेपाली रुपैयाँ) ३ महिनादेखि १ वर्षसम्मको अल्पकालीन मुद्दती निक्षेप र अन्य मोबाइल नेटवर्क अपरेटरहरूबाट पाउनुपर्ने १ करोड ९६ लाख २९ हजार पाउण्ड समावेश छ ।
बेलायतको अडिट रिपोर्टमा खुल्यो एनसेल खरिदको आर्थिक भार, ४० अर्बभन्दा बढीको दायित्व
स्पेक्ट्रलाइट यूके लिमिटेडको वित्तीय विवरणले कम्पनीको ठूलो आर्थिक दायित्व नेपाल सरकारलाई तिर्नुपर्ने कर र एनसेल खरिद सम्झौतासँग जोडिएको देखाएको छ । प्रतिवेदनअनुसार कम्पनीको दीर्घकालीन दायित्व ५ करोड ९१ लाख १९ हजार बेलायती पाउण्ड रहेको छ ।
यसमध्ये नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्य कानुनी करबापत १ करोड ९६ लाख ८० हजार बेलायती पाउण्ड (करिब ३ अर्ब ३० करोड रुपैयाँ) दायित्व रहेको उल्लेख गरिएको छ । कम्पनीले यो रकम नेपालका कर कार्यालयसँग भएको औपचारिक सम्झौताअनुसार किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाइएको दाबी गरेको छ ।
प्रतिवेदनमा एनसेल खरिदसँग सम्बन्धित थप आर्थिक दायित्व पनि खुलाइएको छ । त्यसअनुसार सन् २०२७ मा रेनोल्ड्स र एनसेल खरिदबापत २ करोड ८४ लाख ५६ हजार बेलायती पाउण्ड (८ प्रतिशत छुट दरमा गणना गरिएको) भुक्तानी गर्नुपर्नेछ । यसबाहेक, खरिद सम्झौताका केही सर्त पूरा भएमा थप ५७ लाख १७ हजार बेलायती पाउण्ड तिर्नुपर्ने दीर्घकालीन दायित्व पनि कम्पनीले देखाएको छ ।
त्यस्तै, अल्पकालीन दायित्व १८ करोड २१ लाख ३६ हजार बेलायती पाउण्ड (करिब ३० अर्ब ५० करोड रुपैयाँ) पुगेको छ । यसमध्ये १२ करोड ८० लाख ९५ हजार पाउण्ड व्यापारिक दायित्व, १ करोड ६५ लाख ८० हजार पाउण्ड खरिद सम्झौतासँग जोडिएको सम्भावित भुक्तानी, ९८ लाख ८ हजार पाउण्ड आयकर, ५७ लाख ९४ हजार पाउण्ड अन्य कर तथा भ्याट र ४२ लाख २९ हजार पाउण्ड समूहभित्रकै अन्य कम्पनीलाई तिर्नुपर्ने रकम रहेको उल्लेख छ ।
कम्पनीले एनसेल खरिद सम्झौतासँग सम्बन्धित कुल सम्भावित दायित्व २ करोड २२ लाख ९७ हजार बेलायती पाउण्ड रहेको खुलाएको छ। यसले एनसेलको स्वामित्व हस्तान्तरणसँग जोडिएका कर तथा खरिद सम्झौताका आर्थिक दायित्व अझै पनि कम्पनीको वित्तीय संरचनामा महत्वपूर्ण हिस्साका रूपमा रहेको देखाउँछ ।
एनसेलको सञ्चालनका लागि लिइएको कुल बैंक ऋण तथा भाडा दायित्व ८ करोड ८० लाख ८५ हजार बेलायती पाउण्ड (करिब १४ अर्ब ७५ करोड नेपाली रुपैयाँ) पुगेको छ । दीर्घकालीन ऋणतर्फ ४ करोड ७९ लाख ५६ हजार पाउण्ड बैंक ऋण र १ करोड ८१ लाख ५२ हजार पाउण्ड भाडा दायित्व गरी कुल ६ करोड ६१ लाख ८ हजार पाउण्ड छ ।
अल्पकालीन ऋणतर्फ १ करोड ९१ लाख ४६ हजार पाउण्ड बैंक ऋण र २८ लाख ३१ हजार पाउण्ड भाडा दायित्व गरी कुल २ करोड १९ लाख ७७ हजार पाउण्ड छ । कम्पनीको कुल बैंक ऋण ६ करोड ७१ लाख २ हजार पाउण्ड रहेको छ । यो पूर्ण रूपमा नेपालस्थित सहायक कम्पनी एनसेलको नाममा छ।
यसमा ६.१५ प्रतिशतदेखि ८.३५ प्रतिशतसम्मको चलायमान ब्याजदरमा लिइएको ५ करोड ६२ लाख ४२ हजार पाउण्डको ऋण र ८ प्रतिशत स्थिर ब्याजदरमा लिइएको १ करोड ८ लाख ६० हजार पाउण्डको ऋण समावेश छ । यस अवधिमा ७९ लाख ६० हजार पाउण्ड ब्याज खर्च भएको र ७९ लाख ७३ हजार पाउण्ड ब्याज भुक्तानी गरिसकिएको छ ।
टावर तथा भौतिक संरचनाहरू भाडा अवधि सकिएपछि हटाउनका लागि राखिएको वातावरणीय पुनर्स्थापना दायित्व १ करोड १ लाख ८३ हजार बेलायती पाउण्ड (करिब १ अर्ब ७० करोड नेपाली रुपैयाँ) पुगेको छ । यो १ वर्षभन्दा बढी अवधिको दायित्व हो ।
कम्पनीको सेयर पुँजी तर्फ २६ सेप्टेम्बर २०२३ मा स्थापना हुँदा १ अमेरिकी डलर दरका १ लाख थान साधारण सेयर जारी गरी ८३ हजार बेलायती पाउण्ड कायम गरिएको छ । कम्पनीले एनसेलको ८० प्रतिशत स्वामित्व मात्र राखेकाले बाँकी २० प्रतिशत सेयरधनीको हिस्सालाई 'नन्-कन्ट्रोलिङ इन्ट्रेस्ट'का रूपमा हिसाब गरेको छ ।
खरिदका बखत २ करोड ३४ लाख ५० हजार पाउण्ड कायम भएको यस्तो हिस्सामा यस अवधिको नाफाबाट ४१ लाख ४० हजार पाउण्ड जोडिएर र अन्य विस्तृत आम्दानीको घाटा ४ लाख ९ हजार पाउण्ड कटाएर कुल २ करोड ७१ लाख ८१ हजार बेलायती पाउण्ड (करिब ४ अर्ब ५५ करोड नेपाली रुपैयाँ) अल्पसंख्यक सेयरधनीहरूको इक्विटीका रूपमा दर्ता गरिएको छ ।
एनसेलको माउ कम्पनी दाबी गरिएको स्पेक्ट्रलाइट युके लिमिटेडले वित्तीय जोखिम व्यवस्थापन, विदेशी मुद्रा र ब्याजदरको उतारचढाव, एनसेल खरिदको वास्तविक लागत, कम्पनीको स्वामित्व संरचना, ऋण तथा भाडा दायित्व, र सन् २०२५ मा भएको तोडफोड सम्बन्धी घटनाको पूर्ण विवरण खुलाएको छ।
कम्पनीको नीति अनुसार अल्पकालीन ओभरड्राफ्ट र भाडा दायित्वबाहेक कुल बाह्य ऋणको ५० देखि ७५ प्रतिशत हिस्सा स्थिर (फिक्स्ड) ब्याजदरमा राख्नुपर्छ । स्थानीय तहका कार्यालय वा सहायक कम्पनीहरूलाई बाह्य स्रोतबाट सीधै दीर्घकालीन ऋण लिन मनाही गरिएको छ। वित्तीय विवरण अनुसार कम्पनीसँग ५ करोड ६२ लाख ४२ हजार पाउण्ड चलायमान (भ्यारिएबल) ब्याजदरको ऋण छ। बजारमा ब्याजदर १ प्रतिशतले बढ्दा वा घट्दा कम्पनीलाई ५ लाख ६२ हजार पाउण्ड (करिब ९ करोड ४० लाख नेपाली रुपैयाँ) बराबरको थप वित्तीय भार वा बचत हुने देखिन्छ ।
नेपाली रुपैयाँ, अमेरिकी डलर र बेलायती पाउण्ड बीचको विनिमय दरमा हुने उतारचढावले कम्पनीको नाफा-नोक्सानमा प्रत्यक्ष असर पार्ने भनिएको छ । कम्पनीको मुख्य नीति आफ्ना सहायक कम्पनीहरूलाई उनीहरूकै स्थानीय मुद्राको आम्दानीबाट स्थानीय दायित्व चुक्ता गर्न दिने हो । लेखापरीक्षकहरूले पाउण्डको तुलनामा डलर १ प्रतिशतले र नेपाली रुपैयाँ ५ प्रतिशतले मजबूत वा कमजोर हुँदा पर्ने असरको विश्लेषण गरेका छन् ।
नगद मौज्दातमार्फत कम्पनीसँग २ करोड ६१ लाख ५१ हजार पाउण्ड बराबरको नेपाली रुपैयाँ र ३७ लाख १५ हजार पाउण्ड बराबरको डलर छ । यसमा पाउण्ड ५ प्रतिशतले बलियो हुँदा नेपाली रुपैयाँमा १३ लाख ८ हजार पाउण्ड र डलर १ प्रतिशतले बलियो हुँदा ३७ हजार पाउण्डको नोक्सानी देखिन्छ । कुल ६ करोड ७१ लाख २ हजार पाउण्ड बराबरको नेपाली रुपैयाँको बैंक ऋणमा पाउण्ड ५ प्रतिशतले बलियो हुँदा कम्पनीलाई ३३ लाख ५५ हजार पाउण्ड (करिब ५६ करोड नेपाली रुपैयाँ) को लाभ मिल्छ ।
उठाउन बाँकी रकमतर्फ ३ करोड ४७ लाख ५४ हजार पाउण्ड बराबरको नेपाली रुपैयाँमा १७ लाख ३८ हजार पाउण्ड र ५ करोड ७९ लाख ७३ हजार पाउण्ड बराबरको डलरमा ५ लाख ८० हजार पाउण्डको नकारात्मक असर पर्न सक्छ। दायित्वतर्फ १५ करोड ७५ लाख ३० हजार पाउण्ड बराबरको नेपाली रुपैयाँ दायित्वमा पाउण्ड बलियो हुँदा ७८ लाख ७७ हजार पाउण्ड (करिब १ अर्ब ३१ करोड नेपाली रुपैयाँ) र ७ करोड ९३ लाख १७ हजार पाउण्ड बराबरको डलर दायित्वमा ७ लाख ९३ हजार पाउण्डको राहत मिल्ने उल्लेख छ ।
कम्पनीले आफ्ना ग्राहक वा साझेदारहरूले भुक्तानी नगर्दा हुन सक्ने नोक्सानीलाई क्रेडिट रिस्कका रूपमा वर्गिकरण गरेको छ । कम्पनीको कुल १२ करोड २६ लाख ४३ हजार पाउण्ड बराबरको वित्तीय सम्पत्ति (नगद मौज्दात २ करोड ९८ लाख ६६ हजार पाउण्ड र उठाउन बाँकी ९ करोड २७ लाख ७७ हजार पाउण्ड) यस्तो जोखिमको दायरामा छ ।
उठाउन बाँकी व्यापारिक रकम १ करोड ९२ लाख ६१ हजार पाउण्डको भाका नाघेको आधारमा जोखिम वर्गीकरण गरी कुल ३७ लाख ९१ हजार पाउण्ड नोक्सानीबापत (प्रोभिजन) छुट्याइएको छ।
जसमा ० देखि ३० दिनसम्म भाका नाघेको १ करोड ४ लाख ८८ हजार पाउण्डमा ६.०२% जोखिम हिसाब गरी ६ लाख ३१ हजार पाउण्ड प्रोभिजन, ३० देखि १२० दिनसम्म भाका नाघेको ४६ लाख २ हजार पाउण्डमा ९.३७% जोखिम हिसाब गरी ४ लाख ३१ हजार पाउण्ड प्रोभिजन, र १२० दिनभन्दा बढी भाका नाघेको ४१ लाख ७१ हजार पाउण्डमा ६५.४३% अति उच्च जोखिम हिसाब गरी २७ लाख २९ हजार पाउण्ड प्रोभिजन राखिएको छ।
कम्पनीले नयाँ ग्राहकहरूलाई उधारो वा किस्ता सुविधा दिनुअघि कडा जाँच गर्छ र नगद तथा मुद्दती निक्षेप नेपालका प्रतिष्ठित र ठूला बैंकहरूमा मात्र रकम बाँडेर राख्छ ।
आफ्नो नियमित सञ्चालन खर्च र ऋणको किस्ता समयमै बुझाउन सक्ने क्षमता (तरलता) तर्फ वर्षको अन्त्यमा २ करोड ९९ लाख पाउण्ड नगद मौज्दात छ। अग्रिम भुक्तानी (प्रिपेड) प्राप्त हुने र साहुहरूलाई पछि भुक्तानी गर्दा हुने भएकाले क्यास कन्भर्जन साइकल बलियो छ।
गैर-व्युत्पन्न वित्तीय दायित्वको भुक्तानी तालिका अनुसार १ वर्षभित्र भाडा दायित्व ४७ लाख ५० हजार पाउण्ड, बैंक ऋण १ करोड ९१ लाख ४६ हजार पाउण्ड, अन्य व्यापारिक दायित्व १६ करोड ५५ लाख ५६ हजार पाउण्ड, र खरिद सम्झौताबापतको रकम २ करोड ९ लाख ६ हजार पाउण्ड बुझाउनुपर्छ।
१ देखि ५ वर्षभित्र भाडा दायित्व १ करोड ५२ लाख ३२ हजार पाउण्ड, बैंक ऋण ४ करोड ७९ लाख ५६ हजार पाउण्ड, र खरिद सम्झौताको दायित्व ३ करोड ७ लाख ३६ हजार पाउण्ड बुझाउनुपर्छ भने ५ वर्षभन्दा पछि १३ लाख ८ हजार पाउण्ड बराबरको भाडा दायित्व छ।
कम्पनीको कुल भाडा दायित्व २० लाख ९८ हजार ३ सय पाउण्ड (करिब ३ अर्ब ५० करोड नेपाली रुपैयाँ) रहेको छ । यसमा सन् २०२४ मा मात्रै २७ लाख ४ हजार पाउण्ड ब्याज खर्च र ५७ लाख १६ हजार पाउण्ड किस्ता भुक्तानी गरिएको छ ।
नातागोताको कारोबार र वास्तविक मालिक (अल्टिमेट ओनर) तर्फ कम्पनीले आफ्नो सम्पूर्ण सेयर स्वामित्व ब्रिटिस भर्जिन आइसल्याण्डको रोड टाउन, टोर्टोलास्थित पोर्टकुलिस च्याम्बर्सको चौथो तलामा दर्ता रहेको स्पेक्ट्रलाइट लिमिटेडसँग रहेको खुलासा गरेको छ ।
स्पेक्ट्रलाइट युके लिमिटेड उक्त कम्पनीको १००% पूर्ण स्वामित्वको सहायक कम्पनी हो । व्यावसायिक खरिदका क्रममा स्पेक्ट्रलाइट युकेले आफ्नो मुख्य माउ कम्पनी स्पेक्ट्रलाइट लिमिटेडलाई ५० लाख डलर (करिब ३९ लाख ९५ हजार पाउण्ड) भुक्तानी गर्न बाँकी थियो र सन् २०२४ को अन्त्यसम्ममा माउ कम्पनीलाई बुझाउन बाँकी कुल दायित्व ४२ लाख २९ हजार पाउण्ड (करिब ७० करोड नेपाली रुपैयाँ) पुगेको छ ।
१ डिसेम्बर २०२३ मा स्पेक्ट्रलाइट युकेले आजियाटा इन्भेस्टमेन्ट (युके) लिमिटेडसँग एनसेलको ८० प्रतिशत सेयर स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्स लिमिटेड खरिद गर्ने पूर्ण सम्झौता गरेको थियो ।
खरिदको निश्चित भुक्तानी कुल ५ करोड डलर (३ करोड ९५ लाख ७० हजार पाउण्ड) तोकिएकोमा ५० लाख डलर ६ महिनाभित्र र बाँकी ४ करोड ५० लाख डलर ४८ महिनाभित्र भुक्तानी गर्ने सम्झौता छ। यो रकम ब्याजमुक्त छ र यसको सुरक्षाका लागि स्पेक्ट्रलाइटका सेयरधनीको 'आजियाटा कम्बोडिया होल्डिङ्स' मा रहेको सेयर धितो राखिएको छ ।
यसको वर्तमान मूल्य २ करोड ६१ लाख ७७ हजार पाउण्ड कायम गरिएको छ । एनसेलको भविष्यको कार्यसम्पादन, लाभांश र नियामक स्वीकृतिका आधारमा थप भुक्तानी गरिने सर्तसहितको दायित्व २ करोड ३० लाख ५१ हजार पाउण्ड रहेको छ। कुल खरिद लागत ५ करोड ३१ लाख ८५ हजार बेलायती पाउण्ड कायम भएको छ ।
खरिदका क्रममा कम्पनीले २३ करोड ९५ लाख ४६ हजार पाउण्डको भौतिक सम्पत्ति, २ करोड २९ लाख २७ हजार पाउण्डको अभौतिक सम्पत्ति, ७ करोड ९१ लाख ५३ हजार पाउण्ड नगद मौज्दातसहित कुल १५ करोड ३१ लाख २० हजार पाउण्ड (करिब २५ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको खुद सम्पत्ति प्राप्त गरेको थियो।
५ करोड ३१ लाख ८५ हजार पाउण्डको कुल लागत र २ करोड ३४ लाख ५० हजार पाउण्डको अल्पसंख्यक हिस्सा जोडेर कुल सम्पत्ति घटाउँदा कम्पनीलाई ७ करोड ६४ लाख ८५ हजार बेलायती पाउण्ड (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) बराबरको 'सस्तो खरिद नाफा' प्राप्त भएको वित्तीय विवरणमा देखाइएको छ। साथै, खरिद लगत्तै एनसेलको खातामा रहेको ७ करोड ९१ लाख ५३ हजार पाउण्ड नगद कम्पनीको नियन्त्रणमा आएको थियो ।
प्रतिवेदनको अन्तिम परिच्छेदमा ९ सेप्टेम्बर २०२५ मा नेपालस्थित एनसेलको केन्द्रीय कर्पोरेट कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड गरेको घटना दर्ता गरिएको छ । उक्त घटनाका कारण कार्यालयको भौतिक सञ्चालनमा केही समय अवरोध आए पनि कम्पनीको समग्र व्यावसायिक गतिविधि र दूरसञ्चार सेवामा कुनै असर नपरेको स्पष्ट पारिएको छ ।
क्षति भएका सम्पूर्ण सम्पत्तिको पूर्ण बिमा गरिएको र हाल बिमा दाबीको प्रक्रिया चलिरहेकाले कम्पनीको खुद वित्तीय अवस्थामा कुनै ठूलो वा असरदार नोक्सानी नपर्ने निष्कर्ष व्यवस्थापनले निकालेको छ ।
यसरी एकातिर नेपालका नियामक निकाय, राजस्व प्रशासन र कानुनी संयन्त्रहरूमा एनसेलको स्वामित्व हस्तान्तरण र कानुनी प्रक्रियाको विषय अन्योल र विवादमा अल्झिरहेको छ भने अर्कातिर बेलायतको संस्थागत, वित्तीय र लेखापरीक्षण प्रणालीमा एनसेलको अर्बौँको आम्दानी, खुद नाफा, सम्पत्ति, दायित्व र सञ्चालन रणनीतिले शतप्रतिशत वैधानिक मान्यता पाइसकेको छ ।