म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा आज पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
विद्युत्गृहमा कार्यरत एक जना प्राविधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत्गृहमा सुरक्षागार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय दीपक बरुवाल ९खेमराज० को कार्यस्थलमै शव भेटिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
उहाँका अनुसार बिहान ३ः३५ को समयमा विद्युत्गृह माथिबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोमा पुरिएका बरुवालको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले डोजर परिचालन गरेर एक घण्टाको प्रयासमा निकालेर परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ ।