रोयटर्स । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल–असदलाई हत्या, यातना, मनोमानी गिरफ्तारी र मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।
करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अपराधमा असदविरुद्ध सिरियामा भएको यो पहिलो अदालती फैसला हो । सन् २०२४ को डिसेम्बरमा विद्रोहीको आक्रमणपछि असद सत्ताच्युत भएका थिए। त्यससँगै सिरियामा उनको परिवारको दशकौँ लामो शासन अन्त्य भएको थियो। युद्धमा लाखौँ मानिसको ज्यान गएको थियो ।
फैसला सार्वजनिक भएपछि राजधानी दमास्कसस्थित अदालतबाहिर ठूलो संख्यामा मानिसहरू भेला भएका थिए। उनीहरूले नारा लगाउँदै, ताली बजाउँदै र सिरियाली झण्डा फहराउँदै फैसलाको स्वागत गरेका थिए ।
विद्रोहीहरू राजधानी प्रवेश गर्न थालेपछि असद करिब दुई वर्षअघि दमास्कसबाट भागेका थिए। उनी हाल रुसमा छन् ।
रुसले असद र उनको परिवारलाई मानवीय आधारमा शरण दिएको छ । अदालतले असदका भाइ माहेर अल–असदलाई पनि मृत्युदण्डको फैसला सुनाएको छ।
माहेरले सिरियाली सेनाको शक्तिशाली चौथो बख्तरबन्द डिभिजनको नेतृत्व गरेका थिए । उक्त डिभिजनमाथि असदविरुद्धका प्रदर्शन दबाउन, विद्रोहीबाट गुमेका भूभाग पुनः कब्जा गर्न तथा असद परिवारलाई आर्थिक लाभ पुर्याउने उद्देश्यले लागुऔषध उत्पादन र कारोबारमा संलग्न रहेको आरोप लागेको थियो ।
अदालतले असद शासनकालका सुरक्षा अधिकारी आतिफ नाजिबलाई पनि मृत्युदण्ड सुनाएको छ। सन् २०११ मा असदविरुद्ध पहिलो प्रदर्शन सुरु भएको दक्षिणी प्रान्त दारामा उनी सुरक्षा अधिकारीका रूपमा कार्यरत थिए ।
असद परिवारका नातेदार नाजिबलाई सन् २०२५ को सुरुवातमा सिरियाली सुरक्षा बलले पक्राउ गरेको थियो । मंगलबारको सुनुवाइमा उनी प्रत्यक्ष रूपमा अदालतमा उपस्थित भएर मुद्दा खेप्ने एकमात्र अभियुक्त थिए ।