२०८३, कार्तिक २० गते

Switch TV Mode

बिहिवार, कार्तिक २० गते २०८३

आफ्नै सरकारमाथि रञ्जु दर्शनाको प्रश्न– डा. केसीसँग सहमति गरेर किन पछि हटेको ?

बुधवार , कार्तिक १९, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा आफ्नै सरकारसँग प्रश्न गरेकी छन् ।सामाजिक सञ्जालमार्फत उनले डा. केसीसँग माग सम्बोधन गर्ने सहमति गर्न नसकिने भए यसअघि किन सहमति गरिएको थियो भन्दै सरकारसँग जवाफ मागेकी हुन् ।

उनले डा. केसीका माग कुनै राजनीतिक दल वा पार्टीको स्वार्थसँग सम्बन्धित नभई चिकित्सा शिक्षा सुधार र आम नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको उल्लेख गरेकी छन् ।

‘डा. केसी न विवेकशीलका हुन्, न रास्वपाका, न कांग्रेस–एमाले–माओवादी वा अन्य कुनै दलका। उहाँ कसैका हुनुहुन्न, तर सबैका हुनुहुन्छ,’ दर्शनाले लेखेकी छन् ।

सरकारले सबैभन्दा पहिले डा. केसीको जीवनरक्षालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । माग जायज नभए तथ्य र तर्कसहित अस्वीकार गर्न सकिने भए पनि सहमति गरिसकेपछि त्यसबाट पछि हटेर उनको जीवन जोखिममा पार्ने अवस्था सिर्जना गर्न नहुने उनले बताएकी छन् ।
दर्शनाले डा. केसीको सत्याग्रहलाई समस्याका रूपमा नहेर्न पनि सरकारलाई आग्रह गरेकी छन् । उनका अनुसार पटक–पटक सत्याग्रह गर्नुपर्ने अवस्था सिर्जना हुनु नै वास्तविक समस्या हो ।

‘सत्य र न्यायका लागि कसैले बारम्बार आफ्नो जीवन नै दाउमा राख्नुपर्ने अवस्था आउनु समस्या हो,’ उनले लेखेकी छन् । साथीहरूको समर्थन वा असमर्थनले आफ्नो धारणामा फरक नपर्ने उल्लेख गर्दै दर्शनाले सत्य र न्यायप्रतिको अडान दल, सत्ता वा प्रतिपक्षको सुविधाअनुसार परिवर्तन नहुने स्पष्ट पारेकी छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार