काठमाडौँ। चिकित्सक शिक्षा सुधारका अभियान्त प्रा डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।
चिकित्सक शिक्षा सुधारको मागसहित अनसन बसेका डा.केसी स्वास्थ्यमा समस्या देखिएर शनिवारदेखि इलाम अस्पतालमा उपचाररत छन् ।
अस्पतालले डा.केसीको स्वास्थ्य अवस्था जीवन जोखिममा पर्न सक्ने देखिएको अस्पतालले जनाएको छ।
इलाम अस्पतालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार डा। केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनी टाइप–२ मधुमेह का बिरामी हुन्।
अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनको रगतमा ग्लुकोजको मात्रा अत्यन्त कम पाइएको छ। परीक्षणमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर देखिएको अस्पतालले जनाएको छ। चिकित्सकीय भाषामा यस अवस्थालाई गम्भीर हाइपोग्लाइसेमिया भनिन्छ।
त्यसैगरी, उनको पिसाबमा एसिटोनको मात्रा पनि बढेको पाइएको विज्ञप्तिमा उल्लेख छ। अस्पतालका अनुसार उनको रक्तचाप १०० र ६० एमएमएचजी, नाडीको गति प्रतिमिनेट ८० देखि १०८ र अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको छ। ईसीजी परीक्षणमा कहिलेकाहीँ भेन्ट्रिकुलर प्रिमेच्योर कन्ट्र्याक्सन देखिएको छ।
अस्पतालले डा. केसीको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र अवस्था जीवन जोखिमपूर्ण हुन सक्ने जनाएको छ। स्वास्थ्य अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै थप उपचार तथा आवश्यक स्वास्थ्य व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशलाई अनुरोधसमेत गरेको छ।