२०८३, कार्तिक १४ गते

Switch TV Mode

शुक्रवार, कार्तिक १४ गते २०८३

७४ जिल्लाबाट ११ हजार ६४३  जनामा स्क्रब टाइफस पुष्टि

बुधवार , कार्तिक १२, २०८३

काठमाडौँ । नेपालमा  हालसम्म ११ हजार ६४३ जनामा स्क्रब टाइफसका पुष्टि भएको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार  ७४ जिल्लाबाट ११ हजार ६४३ मा स्क्रब टाइफस पुष्टि भएको छ । 

महाशाखाको प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी तीन हजार २७६ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा दुई हजार २१७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार १८६ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी बागमती प्रदेशमा एक हजार ४१८, कोशी प्रदेशमा एक हजार २५७, कर्णाली प्रदेशमा एक हजार चार र मधेश प्रदेशमा २८५ जनामा संक्रमण पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।
जिल्लागत विवरणअनुसार दाङमा सबैभन्दा बढी ६८७ जना संक्रमित भेटिएका छन्।

स्याङ्जामा ६१५, सल्यानमा ५५०, सङ्खुवासभामा ५०५, बझाङमा ४८०, रोल्पामा ४७५, पाल्पामा ४३५, धादिङमा ४००, बर्दियामा ३८६ र गोरखामा ३७८ जनामा संक्रमण देखिएको छ।
 विवरणअनुसार अगस्टमा दुई हजार ५७७ र सेप्टेम्बरमा दुई हजार ९९० जना संक्रमित भेटिएका छन्।

अक्टोबरमा एक हजार ५०० भन्दा बढी संक्रमित देखिएको तथ्याङ्कले जनाएको छ। यसले वर्षायाम र त्यसपछिका महिनामा संक्रमणको जोखिम उच्च रहन सक्ने देखाउँछ।
स्क्रब टाइफसबाट बच्न सावधानी आवश्यक रहेको चिकित्सक बताउछन् । 

स्क्रब टाइफस ओरिएन्टिया सुसुगामुसी नामक जीवाणुबाट हुने संक्रमण हो। यो संक्रमित माइटको लार्भा ९चिगर० को टोकाइबाट मानिसमा सर्छ। झाडी, घाँस र खेतबारीमा काम गर्दा यसको जोखिम बढी हुन्छ।
संक्रमित व्यक्तिमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, खोकी लाग्ने तथा टोकेको ठाउँमा कालो दाग वा घाउ देखिने लक्षण हुन सक्छन्। समयमै उपचार नभएमा यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
स्वास्थ्यकर्मीले घाँस तथा झाडी भएको ठाउँमा जाँदा पूरा बाहुला भएको कपडा लगाउन, शरीर ढाक्ने कपडा प्रयोग गर्न, झाडीमा अनावश्यक नबस्न र घर वरिपरिको घाँस तथा झाडी सफा राख्न सुझाव दिएका छन्।

खेतबारी वा वनजङ्गलबाट फर्केपछि शरीर र कपडा जाँच गर्ने तथा सरसफाइमा ध्यान दिने बानीले जोखिम कम गर्न सहयोग पुग्छ।
ज्वरो आउने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउन स्वास्थ्यकर्मीको आग्रह छ । 

सम्बन्धित विषय:

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार