काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी वितरण कार्यक्रमको पहिलो चरणको मिति परिवर्तन गरिएको छ।
दसैँ बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने भएपछि नयाँ मिति निर्धारण गरिएको हो।
स्वास्थ्य तथा खाद्य तथा स्वस्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको सूचनाअनुसार अब उक्त कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ।
कार्यक्रमअन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। त्यसैगरी, १२ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन तथा जुकाको सङ्क्रमणबाट हुने स्वास्थ्य समस्याको जोखिम घटाउन यो कार्यक्रम सञ्चालन हुँदै आएको छ।
सम्बन्धित स्वास्थ्य संस्थाले तोकेको स्थान तथा समयमा बालबालिकालाई औषधी खुवाउने व्यवस्था मिलाइने भएकाले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लैजान आग्रह गरिएको छ।