२०८३, कार्तिक १६ गते

Switch TV Mode

आइतवार, कार्तिक १६ गते २०८३

भिडियो अन्तर्वार्ता

लक्षण नदेखिए पनि हुन सक्छ मधुमेह, कसरी जोगिने मधुमेहबाट?

आइतवार , कार्तिक १६, २०८३

काठमाडौँ: अस्वस्थ खानपान, शारीरिक निष्क्रियता तथा बदलिँदो जीवनशैलीका कारण मधुमेह (चिनी रोग) को जोखिम बढ्दै गएको छ। समयमै रोग पहिचान गरी उचित उपचार र जीवनशैलीमा सुधार गर्न सके मधुमेहबाट हुने जटिलता न्यूनीकरण गर्न सकिने कन्सल्टेन्ट इन्डोक्रइमोलोजिष्ट डा.मधु पाण्डे बताउँछिन । 

डा.पाण्डेका अनुसार मधुमेह शरीरमा रगतमा ग्लुकोज (चिनी) को मात्रा सामान्यभन्दा बढी हुने दीर्घकालीन रोग हो। शरीरमा पर्याप्त इन्सुलिन उत्पादन नहुँदा वा उत्पादन भएको इन्सुलिनले प्रभावकारी रूपमा काम गर्न नसक्दा यो रोग लाग्छ।

मधुमेहका प्रमुख लक्षणमा पटक–पटक पिसाब लाग्नु, धेरै तिर्खा लाग्नु, बढी भोक लाग्नु, शरीर थाक्नु, बिना कारण तौल घट्नु, आँखा धमिलो देखिनु र घाउ निको हुन लामो समय लाग्नु रहेका छन्। कतिपय व्यक्तिमा भने कुनै लक्षण नदेखिए पनि मधुमेह हुन सक्छ।

मधुमेह मुख्यतः टाइप १, टाइप २ र गर्भावस्थामा देखिने मधुमेह गरी तीन प्रकारका हुन्छन्। 

तीमध्ये टाइप २ मधुमेह बढी देखिने प्रकार हो। मोटोपना, शारीरिक व्यायामको कमी, असन्तुलित खानपान तथा परिवारमा मधुमेहको इतिहास हुनु यसका प्रमुख जोखिम हुन्।

समयमै नियन्त्रण नगरेमा मधुमेहले मुटु, मिर्गौला, आँखा तथा स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्ने डा पाण्डेको भनाइ छ । यसले आँखाको दृष्टि कमजोर बनाउने, मिर्गौलाको कार्यक्षमता घटाउने तथा हातखुट्टामा संवेदना कम गराउने समस्या निम्त्याउन सक्छ।

मधुमेहको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि सन्तुलित र पोषिलो खाना खानु, नियमित शारीरिक व्यायाम गर्नु, तौल नियन्त्रणमा राख्नु, गुलियो पेय पदार्थ तथा प्रशोधित खानेकुरा नखान डा पाण्डेको सुझाव छ ।   साथै, नियमित स्वास्थ्य परीक्षण गराउनु र चिकित्सकको सल्लाहअनुसार औषधी  सेवन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।

स्वास्थ्यप्रति सचेतना अपनाउने, समयमै परीक्षण गर्ने र आवश्यक उपचार लिने बानीले मधुमेहबाट हुने जटिलता कम गर्न सकिन्छ। मधुमेह भएका व्यक्तिले पनि उचित उपचार र स्वस्थ जीवनशैली अपनाएर सक्रिय तथा गुणस्तरीय जीवन बिताउन सक्ने उनको भनाइ छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार