काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनलाई लिएर आर्थिक चलखेलको आरोप लगाइनु महाधिवेशन प्रतिनिधिहरूकै अपमान भएको बताएका छन् ।
बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले कांग्रेसको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न भएको स्पष्ट पारे । उनले महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक गरिएका विषयलाई सरकारको योजनामा फैलाइएको भ्रमको संज्ञा दिए ।
उनले पार्टी विधानको धारा १७ (२) अनुसार महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भएको बताए । त्यसबाट बनेको कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरिसकेको र त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतबाट समेत आयोगको निर्णय सही ठहर भइसकेको उनले बताए ।
उनले भने, ‘विशेष महाधिवेशनपछि संवैधानिक निकाय निर्वाचन आयोगले अद्यावधिक गर्यो । अदालतमा लामो बहस भयो र अदालतले निर्वाचन आयोगले गरेको अद्यावधिक सही छ भन्ने फैसला गर्यो ।’
उनले सरकारले आफ्नो प्राथमिकता छुट्याउन नसकेको बताए । उनले भने, ‘यो बेलामा सरकारले गर्नुपर्ने के थियो र के गर्दैछ ? आईजीपी हटाउने अहिलेको प्राथमिकता हो ? सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ। मतदाताले दिएको मतको सम्मान छैन । ठीक ढंगले चलिरहेको छैन ।’
सरकार पाँच वर्षसम्म चलोस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलहरूबीचको सम्बन्ध तथा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि प्रश्न उठाए।
यसैबीच, शर्माले सञ्चारमाध्यममाथि भइरहेको दबाब र अवरोधप्रति पनि चिन्ता व्यक्त गरे । सञ्चारगृहमा अवरोध सिर्जना गर्ने तथा मिडियालाई त्रसित बनाउने गतिविधि लोकतान्त्रिक व्यवस्थाका लागि उचित नभएको उनको भनाइ थियो । उनले विपक्षी दललाई बदनाम गर्ने उद्देश्यले तथ्यहीन विषय प्रचार गर्ने र सञ्चारमाध्यममाथि दबाब दिने कार्य रोक्न सरकारलाई चेतावनीसमेत दिए ।