काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पोखरालाई आठ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै लुम्बिनी पाँच अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पोखराले भने लगातार तेस्रो हार व्यहोरेको छ । जारी सिजनमा पोखरा अहिलेसम्म जितविहीन बनेको छ ।