काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली चलचित्र ‘पाँच पाण्डव’लाई लिएर विभिन्न टीका–टिप्पणी तथा विवाद सार्वजनिक भइरहेका बेला चलचित्रबारे स्पष्टीकरण दिएका छन् ।
आचार्यले चलचित्र प्रदर्शनमा आउन बाँकी रहेको र यसको पूर्ण कथावस्तु दर्शकसमक्ष प्रस्तुत भइनसकेको अवस्थामा केही गीत, दृश्य तथा प्रचार सामग्रीका आधारमा समग्र चलचित्रबारे धारणा बनाउनु उचित नहुने बताएका छन् ।
उनका अनुसार ‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र होइन । यो समकालीन नेपाली समाजको कथावस्तुमा आधारित चलचित्र हो, जसमा महाभारतबाट एउटा सानो विम्ब मात्र लिइएको छ ।
चलचित्रमा महाभारतका केही पात्रका नाम कथाको सन्दर्भअनुसार प्रयोग गरिएको भए पनि महाभारतकी द्रौपदीको चरित्र वा भूमिका समावेश नगरिएको उनले स्पष्ट पारेका छन् । आचार्यले चलचित्रको पूर्ण कथावस्तु र प्रस्तुति हेरेर मात्रै धारणा बनाउन दर्शक, शुभचिन्तक तथा सरोकारवालासँग आग्रह गरेका छन् ।