२०८३, कार्तिक १५ गते

Switch TV Mode

शनिवार, कार्तिक १५ गते २०८३

सम्पदा, संस्कृति र सिनेमाको संगम बन्यो काठमाडौँ फिल्म फेस्टिभल

शनिवार , कार्तिक १५, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ आफूले यस अघि सहभागिता जनाएका सबै फेस्टिभलमध्येकै नौलो भएको सहभागी कलाकारहरुले प्रतिक्रिया दिएका छन् ।

कार्तिक १३ गते वसन्तपुरमा सम्पदा पद यात्राबाट प्रारम्भ भएको फेस्टिभलको शुभारम्भ कार्यक्रममा सहभागी कलाकारहरुले डवली, चोक, मन्दिरका सिँढीमा प्रदर्शन गरिएका गायन, वादन तथा नृत्य हेरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुले मौलिक सांस्कृतिक क्रियाकलाप हेर्नु मात्र भएन । आफैँले नाचेर, गाएर सहभागिता जनाएका थिए ।

सम्पदा यात्रापछि आयोजना गरिएको औपचारिक कार्यक्रममा कलाकारहरुले पनि फेस्टिभललाई ‘विशिष्ट पहिचानसहित सुरु भएको यात्रा’का रुपमा र यात्रा प्रारम्भको नेतृत्व गर्ने काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखलाई ‘नायक’का रुपमा चर्चा गरे ।

भारतीय चलचित्र अभिनेत्री सवाना आजमीले भनिन्, ‘भारतीय चलचित्र उद्योगमा विगत ५० वर्षदेखि आवद्ध छु । यस अवधिमा म सहभागी भएका सबै फेस्टिभलभन्दा यो मौलिक र सांस्कृतिक स्वादको छ । प्रारम्भ अति नै सुन्दर छ । यससँगै फेस्टिभललाई कसरी दिगो बनाउने चुनौती पनि छ । तर, म विश्वाश गर्छु । महानगरपालिकाले यसलाई निरन्तरता दिनेछ ।’

त्यस्तै विशिष्ट प्राध्यापक मार्काे मुलरले भने, ‘यो यङ् फिल्म फेस्टिभल हो । किनभने यसका आयोजक सबै युवा देख्छु । सांस्कृतिक जीवन र हिमालय क्षेत्र भएको चलचित्र निर्माणको नयाँ आयाम जोड्ने लक्ष्य पनि नयाँ देखेको छु । नेपालको राजधानी सहर काठमाडौँ महानगरपालिका फेस्टिभल सुरु गर्नु पनि नयाँ कुरा हो । यो फेस्टिभलले क्रियटिभ उद्योगका लागि दक्षिण एशियाली मुलुक र विश्वभर नयाँ सन्देश प्रवाह गर्नेछ ।’

त्यसैगरी वरिष्ठ अभिनेता, मदनकृष्ण श्रेष्ठले भने, ‘चलचित्र बडा पावरफुल हुन्छ । यसबाट धेरै सन्देश दिनुपर्छ । कथानक चलचित्र अलि ढिला हुन्छ । सिरियलहरुबाट चाँडै नै सूचना र शिक्षा दिन सकिन्छ । अब यतातिर पनि महानगरपालिकाले ध्यान दिनुपर्छ । २०४३ सालमा सवाना आजमी काठमाडौँमा आउनुभएको थियो । एउटा अवार्ड कार्यक्रममा उहाँको हातबाट मैले वेष्ट कमेडियन अवार्ड थापेको थिएँ । आज महानगरपालिकाले त्यो बेला अवार्ड दिने र लिने दुवैलाई एउटै मञ्चमा ल्यायो । म आभारी छु ।’

वक्ताहरुको धारणा र सहभागीहरुको प्रतिक्रिया सुनिसकेपछि कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँका टोल, गल्ली र वस्तीलाई अन्तराष्ट्रिय क्षेत्रसँग जोड्न चलचित्र क्षेत्रमार्फत निरन्तर काम गरिरहने बताइन् । उनले भनिन्, ‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन । यसले कुनै बिषय, बस्तु, पात्र वा अवस्थाका बारेमा मानिसको सोचमा गहिरो दृष्टिकोण निर्माण गराउँछ । यसकारण चलचित्रलाई एउटा कोणबाट मात्र हेर्न हुँदैन । यही मान्यतालाई रचनात्मक उद्योगसँग जोडेर हामीले फेस्टिभल थालेका हौँ ।’

समृद्धिको मापन सूचकका विषयमा कुरा गर्दै उनले भनिन्, ‘अग्ला भवन, चिल्ला सडकले मात्र समृद्धिको उचाइ पुग्दैन । यसका लागि स्थानीय भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण र पुस्तान्तरण हुनुपर्छ । हामी क्रियटिभ सिटिजका कार्यक्रम अन्तर्गत यही विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।

उद्घाटन सत्रको शुरुवात् सम्पदा यात्रा र खुला सांस्कृतिक कार्यक्रमबाट गरिएको थियो । जुद्ध शालिक क्षेत्र आमन्त्रित अतिथिलाई मौलिक टीका लगाएर स्वागत गरिएको थियो । त्यसपछि टोलीलाई वसन्तपुर डवलीतर्फ लगिएको थियो । त्यहाँ गुरुजुको पल्टनले सांस्कृतिक वादन प्रस्तुत गरेको थियो । त्यसपछि अगाडि बढेको यात्रा कुमारी घरमा जीवित देवी कुमारीको दर्शनका लागि बढ्यो ।

श्रीकुमारीको दर्शनपछि गद्दी बैठक अगाडिको नारायण मन्दिरको सिँढीमा गणेश चर्या, माजु देगः मन्दिरका सिँढी परम्परागत नृत्य, शिवपार्वती डवलीमा सांस्कृतिक अर्केष्ट्रा, श्वेत भैरव अगाडि नारायण मन्दिर प्राङ्गणमा अष्टमातृका चर्या नृत्य प्रदर्शन गरिएको थियो । यसैगरी कागेश्वरी मन्दिरको ठिक अर्कोपट्टि अतिथितर्फ फर्किएर सशस्त्र प्रहरी बलले बादन प्रस्तुत गरेको थियो । सम्पदा पद यात्रामा रहेका अतिथिहरुले यी नृत्य, गायन तथा वादनमा आफूलाई समाहित गरेका थिए ।

गणेश चर्या, बज्रकला कुञ्जले, माजु देगःको परम्परागत नृत्य नेपा डान्स एकेडमीले, शिवपार्वती डवलीको अर्केष्ट्रा कुटुम्ब, नेपाल प्रहरी, स्थानीय बाजा खलले प्रस्तुत गरेका थिए । अष्टमातृका यूएनएक्सको प्रस्तुति थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा मुनासा नेपाको प्रस्तुति र आर्मय नकर्मीको निर्देशनमा हसाना (सन्देश) नामक नाटक प्रदर्शन गरिएको थियो । यस्तै नेपाः डान्स एकेडेमीले कर्कुल्ला र सातै प्रदेशका आदिबासी जनजातिका भेषभुषा तथा नृत्य समावेश गरेर प्रस्तुति गरेको थियो ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार