गुल्मी । गुल्मीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङजाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थी सवार गाडी सोमबार अपरान्ह कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा दुर्घटना भएको हो ।
पाँच जनाको घटनास्थलमै र एक जनाको उद्धार गरी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना पुरुष र २ जना महिला रहेका छन् । तीन जना घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले गण्डकी प्रदेश बीएए ०२२० नम्बरको स्कारपियो गाडी अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिए । दुर्घटनाग्रस्त गाडी सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ ।