२०८३, कार्तिक १० गते

Switch TV Mode

सोमवार, कार्तिक १० गते २०८३

अर्थमन्त्रीको अभिव्यक्तिमाथि राजेश हमालको प्रश्न, कूटनीतिक मर्यादा पालना गर्न आग्रह

सोमवार , कार्तिक १०, २०८३

काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो मन्त्रीस्तरीय अधिकारको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको टिप्पणी गर्दै नेपालको परराष्ट्र नीतिको आधार र राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने गरी प्रस्तुत हुन नहुने बताएका छन् ।

सामाजिक संजालमार्फत हमालले नेपालको लामो समयदेखि अवलम्बन गर्दै आएको सिद्धान्तमा आधारित परराष्ट्र नीतिलाई व्यक्तिगत विवेक वा राजनीतिक स्वार्थअनुसार व्याख्या गर्न नहुने बताएका हुन् । कुनै पनि पदाधिकारीले सार्वजनिक अभिव्यक्ति वा सर्तमार्फत नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र सार्वभौमसत्ताका आधारभूत मान्यतामा सम्झौता गर्न नहुने उनको भनाइ छ ।

उनले भनेका छन्, ’यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहास समेत गर्छ।’
नेपाल र भारतबीचको सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जोडिएको उल्लेख गर्दै हमालले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन् ।
तर, त्यस्तो प्रयासमा संलग्न नेपाली प्रतिनिधिहरूले कूटनीतिक विवेक प्रदर्शन गर्दै राष्ट्रिय धारणा मर्यादित, सन्तुलित र स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक र रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हमालले यसलाई व्यक्तिगत तुष्टीकरणका संकेत वा सार्वजनिक उपहासको विषय बन्ने अभिव्यक्तिमा सीमित गर्न नहुने बताएका छन् ।

उनले दुई देशबीचको सम्बन्ध सुदृढ रहे पनि सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयमा नेपालको आफ्नै ऐतिहासिक अनुभव र चासो रहेको स्मरण गराएका छन् । यस्ता विषयमा सरकारले उत्तेजक अभिव्यक्ति र औपचारिकतामा मात्र सीमित नभई स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादमार्फत स्पष्ट तथा एकरूप धारणा राख्नुपर्ने उनको भनाइ छ ।

छिमेकीसँगको मित्रता र राष्ट्रिय सार्वभौमसत्ताप्रतिको प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य नभई परिपूरक जिम्मेवारी भएको हमालले बताएका छन् ।उनले नेपाल आफ्नो स्वतन्त्र पहिचान, राष्ट्रिय हितप्रतिको स्पष्टता र सार्वभौमसत्तामा दृढ रहेकै कारण भरपर्दो साझेदार बन्न सक्ने बताएका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार