२०८३, कार्तिक १० गते

Switch TV Mode

सोमवार, कार्तिक १० गते २०८३

टिकटको चलखेल रोक्दै तल्लो तहबाट उम्मेदवार छान्छौँः सभापति थापा

सोमवार , कार्तिक १०, २०८३

स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटमा देखिँदै आएको अन्तिम समयको चलखेल अन्त्य गर्ने बताएका छन् । सोमबार स्याङ्जामा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले आगामी निर्वाचनका लागि डिजिटल मतदान प्रणाली अपनाउँदै तल्लो तहबाटै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने बताएका हुन् ।

उनले आगामी पुस र माघमा डिजिटल मतदानमार्फत उम्मेदवार बन्न योग्य व्यक्तिहरूको प्रारम्भिक सूची तयार गरिने जानकारी दिए । उक्त सूचीका आधारमा विभिन्न तहमा छलफल गरी अन्तिम उम्मेदवार टुंगो लगाइने उनले बताए।

निर्वाचन आउन दुई–पाँच दिन बाँकी हुँदा वा मतदानको केही घण्टाअघि समेत टिकट दिने, खोस्ने र निर्णय फेरबदल गर्ने पुरानो अभ्यास अब स्वीकार्य नहुने उनको भनाइ थियो । उनले भने, ‘पहिलाको जस्तो निर्वाचनको बेलामा दुई दिन, दुई घण्टा अगाडि टिकट लिने, खोस्ने कुनै कुरा हुँदैन। पार्टीको विधानमा व्यवस्था गरेका छौँ । उम्मेदवार चयनको काम कम्तीमा दुई/तीन महिना अगाडि नै टुंग्याउनुपर्छ ।’

उनले उम्मेदवार छनोटसम्बन्धी व्यवस्था पार्टी विधानमै परिवर्तन गरिएको भन्दै त्यसलाई व्यवहारमा लागू गर्दै माथिल्लो तहका नेताको निर्णयमा मात्रै निर्भर हुने प्रणालीको सट्टा तल्लो तहबाटै छनोट प्रक्रिया अघि बढाइने बताए ।

सभापति थापाले पार्टीप्रति गुमेको जनविश्वास पुनःस्थापित गर्न मंसिर महिनालाई जागरण अभियानका रूपमा सञ्चालन गर्नुपर्ने बताए । विगतमा कांग्रेससँग जोडिएका तर अहिले टाढिएका व्यक्ति तथा परिवारसम्म पुगेर सम्बन्ध सुधार्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘माथि सभापति बदलियो, अनुहार बदलियो भनेर मात्रै हुँदैन। हाम्रो काम गर्ने तरिका पनि बदलिएको छ भन्ने सन्देश तलसम्म पुर्याउनुपर्छ ।’

कांग्रेसले जनताको विश्वास किन गुमायो भन्ने विषयमा पार्टीभित्रै गम्भीर समीक्षा गर्नुपर्ने उनको धारणा थियो । आफ्ना कमजोरी पहिचान गर्नुका साथै बाह्य कारणको समेत विश्लेषण गरेर सुधारका काम अघि बढाउनुपर्ने उनले बताए।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार