काठमाडौं । स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४, कुलेश्वर फलफूल मण्डीस्थित आँचल फ्रुट सेन्टरमा मंगलबार दिउँसो प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो ।
जाँचका क्रममा फलफूल पसलका सञ्चालक पर्साको छिपहरमाई गाउँपालिका–१ घर भई हाल कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह तुरहाको पसल तथा डेरा कोठाबाट स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपैयाँ र भारतीय नगद ३ लाख ४ हजार ३०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद रकमसहित तुरहालाई नियन्त्रणमा लिएर प्रहरीले हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।