२०८३, श्रावण २७ गते

Switch TV Mode

बुधवार, श्रावण २७ गते २०८३

सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति सचेत हुनुपर्छः रवि लामिछाने

बुधवार , श्रावण २७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताए । उनले माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको बताए ।

उनले भने,‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ । तर आवाजहरू उस्तै देखिएका छन् । म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु । आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन । बानी परेको पो हो कि भनेर चिन्ता लागेको छ ।’

नागरिकलाई निराश बनाउने बानी परेको अवस्थामा कसैले पनि तृप्त पार्न नसक्ने भन्दै उनले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए ।

सभापति लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे । अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उनले बताए ।

उनले भने, ‘चार महिनामा केही भएन भन्ने उस्तै आवाज आइरहँदा त कसरी सकिएला र ? आजको भोलि नै परिणाम खोज्ने बानी पार्यौँ भने हामीसँग विकल्प खोज्नेबाहेक विकल्प हुँदैन । विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु विकल्प हो । म युवा सांसद र मन्त्री साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, पदमा रमाउने बेला होइन यो । जिम्मेवार भएर सोच्ने बेला हो । यसपटक गलत भयो, बिग्रियो भने फेरि भोलिका पुस्ताका युवाहरूले हाम्रो जस्तो अवसर प्राप्त गर्ने छैनन् ।’

उनले विगतमा राजनीतिमा युवा नेतृत्वको अभाव रहेको भन्दै उमेरका आधारमा अनुभवी पुस्तामाथि प्रश्न उठाउने गरेको समेत स्वीकार गरे । उमेरकै कारण अनुभवी पुस्तालाई पर्याप्त सम्मान दिन नसकेको हुनसक्ने उनको भनाइ छ ।
उनले भने, ‘हामीले सधैँ राजनीतिलाई कचकच गरिरह्यौँ । मैले पनि गरेँ । एउटा ठाउँबाट युवा नेतृत्व नै भएन, युवाहरूले चलाउनुपर्ने देश खै त युवा भनेर उमेरले पाका भएका मानिसहरूलाई सम्भवतः अपमानित पनि गर्यौँ, अपहेलित पनि गर्यौँ । उमेरकै कारणले अनुभवी पुस्तालाई हामीले सम्मान दिन सकेनौँ कि भन्ने कुरा म आज यहाँ उभिँदा महसुस गर्छु ।’

विगतमा पाका पुस्ताले मात्रै देश चलाएको भन्दै आलोचना गर्न सहज रहेको भएपनि अहिले राजनीतिक परिस्थिति परिवर्तन भएको उनले बताए । उनले भने, ‘हामीलाई हिजो अलि सजिलो थियो । दोष लगाइदिए पुग्थ्यो । सबै उमेर पुगेका पाकाहरूले देश चलाए भन्ने कुरा आएको थियो । आज हामीसँग युवा नेतृत्व छ । युवा नेतृत्व आउनुमात्र सपना साकार हुनु होइन । हामीसँग यसलाई परिणाममा बदल्नुपर्ने चुनौती छ । चुनावको नतिजा र प्रतिनिधिसभाको संख्याले मात्रै वर्षौंदेखि हामीले देखेको सपना पूरा हुँदैन ।’

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार