२०८३, श्रावण २७ गते

Switch TV Mode

बुधवार, श्रावण २७ गते २०८३

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छानबिन गर्न सांसद सुनारको माग

बुधवार , श्रावण २७, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गत निर्वाचनमा नेपाल प्रहरीले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन् ।

बुधबार संसदको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उनलाई पदमै राखेर निष्पक्ष छानबिन हुन नसक्ने बताएका हुन् ।

उनले तत्काल छानबिन समिति गठन गरी आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्ने माग गरे । तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने उनले माग गरेका छन् ।

सांसद सुनारले प्रहरीको बर्दीमै बसेर आफूमाथि लागेको आरोपको छानबिन गर्न नमिल्ने भन्दै फौजदारी अभियोगअन्तर्गत अनुसन्धान गर्नुपर्ने माग गरे ।

उनले भने,‘बर्दी लाएर छानबिन हुँदैन । बर्दी लाएर बसेर 'ल, मलाई छानबिन गर' भन्न पाइँदैन । जसरी अरूमाथि प्रहरीले छानबिन गर्छ, त्यसरी नै यो मुद्दामा पनि गर्नुपर्छ । फौजदारी अभियोगमा छानबिन हुनुपर्छ ।’

गत फागुन २१ गते सम्पन्न निर्वाचनका लागि निर्वाचन प्रहरीको पोसाक खरिदमा करिब ६० करोड रुपैयाँ हिनामिना भएको दाबी गर्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो । सोही विषयमा समितिमा छलफल भइरहेका बेला सांसद सुनारले तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार