वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीले सोमबार साँझ करिब ६ः३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर खानतलासी गर्दा उक्त रकम बरामद गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला, डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।
प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ ।
बरामद रकममा १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।