काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
कार्कीविरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
कार्की अर्थमन्त्री हुँदा पोखरा विमानस्थलको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङलाई मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका महसुलबाट उन्मुक्ति दिन ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’मा गलत प्रावधान राखेर राज्यलाई ठुलो हानी पुर्याएको अख्तियारको दाबी थियो ।