२०८३, श्रावण २६ गते

Switch TV Mode

मंगलवार, श्रावण २६ गते २०८३

सुनसरीका मृतक रवीन्द्र मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति

सोमवार , श्रावण २५, २०८३

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ । मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच सोमबार राति भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।

सहमतिमा साउन १० गते राति देवानगञ्ज–३, कसानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ । देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख छ । घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुन बमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ ।

नेपाल सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३ सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाहसंस्कार गर्ने सहमति गरेको छ । घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार