२०८३, श्रावण २४ गते

Switch TV Mode

आइतवार, श्रावण २४ गते २०८३

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

आइतवार , श्रावण २४, २०८३

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु. तीन लाख १५ हजार हात पारे । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु. चार हजार ५०० का दरले बिक्री गरेका हुन् । “गत वर्ष अदुवाको मूल्य  थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उनले भने ।

पाँच रोपनीमा अदुवा खेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे । उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष  २० मन बीउ  रोप्नुभएको छ । उनले भने, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु ।”

माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु. दुई लाख बढी आम्दानी गरे । पचास मन अदुवा रु. चार हजारका दरले बेचेका उनले यस वर्ष  २० मन रोपेका छन् । यस वर्ष आम्दानी बढाउने उनको लक्ष्य छ । “परिवारको घर खर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छ,” उनले भने, “यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत हुनसक्छ ।”

माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोपेका छन् । दश रोपनीमा व्यावसायिक खेती थालेका उनले यसअघि १० मन बीउ माटोमा उपयोग गरेका थिए । जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उनी बताउँछन् । आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवा खेतीमा लागेका उनको कथन छ । 

उत्पादनका बेला प्रतिमन रु. चार हजार ५०० सम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन रु सात हजारसम्म पुगेको छ । बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरू अदुवा खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ । 

माउ अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रु सात हजारसम्म बिक्री हुने गरेको छ भने इलाममा छ हजारमा  किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताए । “ उनले भने, “बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा छ ।”

यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवा खेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवाको बिक्री हुने अदुवाको मुख्य उत्पादन कात्तिकदेखि जेठसम्म हुन्छ ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै  बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ । केन्द्रका अनुसार इलाममा तीन हजार २२१ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवा खेती हुँदै आएको छ । गत वर्ष यहाँ ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार