काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले झण्डै दुई तिहाई बहुमत नजिक रहेको सरकारका प्रधानमन्त्रीले आफूलाई एक्लो भएँ भन्नु हाँस्यास्पद भएको बताएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले १८२ जना सांसद हुँदा पनि एक्लो भएँ भन्नु हाँस्यास्पद भएको बताएका हुन् । उनले भनेका छन्, ‘१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पिए त कति हो कति, तर पनि एक्लै ?’
उपमहासचिव भट्टराईले प्रधानमन्त्रीले आफूलाई एक्लो भएको भन्ने विषयबारे आफूलाई बुझाइदिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘वीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए । तर जगत उनीहरूको पक्षमा थियो । हिजोका अरू र आजकाहरूका वरिपरी सब छ । तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन् । किन होला ? बुझिन मैले, बुझाईदेउ कसैले !’
शुक्रबार मध्यराति प्रधानमन्त्री बालेन साहले सामाजिक संजालमार्फत आफू एक्लो भएको बताएका थिए । उनले भनेका थिए, 'सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ।'