२०८३, श्रावण २४ गते

Switch TV Mode

आइतवार, श्रावण २४ गते २०८३

सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुखः नेता आङ्देम्बे

आइतवार , श्रावण २४, २०८३

काठमाडौँ । नेपाली कांगेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले आदिवासी जनजाति समुदायको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उनको भनाइ छ।

यी उपलब्धि कसैको दया वा कृपाबाट नभई आदिवासी जनजातिसहित सबै नेपाली जनताको लामो संघर्षबाट प्राप्त भएको आङ्देम्बेले बताए।

सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै उनले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ सरकार उन्मुख भएको महसुस हुन थालेको बताए।

‘कमजोरी छन् भने सुधार गर्नुपर्छ र समस्या छन् भने समाधान गर्नुपर्छ,’ उनले भनेका छन्। संविधान संशोधन र परिमार्जनमार्फत संवैधानिक अभ्यासका क्रममा देखिएका त्रुटि र कमजोरी सच्याउन सकिने भए पनि जनताको संघर्षबाट प्राप्त उपलब्धि नै समाप्त पार्ने कुरा स्वीकार्य नहुने उनको भनाइ छ।

आङ्देम्बेले राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्दै पहिचानसहितको संघीयतालाई संस्थागत गर्नुपर्ने बताए। विश्व आदिवासी दिवसले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन्।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार