२०८३, श्रावण २७ गते

Switch TV Mode

बुधवार, श्रावण २७ गते २०८३

शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छः राष्ट्रपति पौडेल

बुधवार , श्रावण २७, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासनसँंग प्रश्न गर्ने नागरिकको सामथ्र्यले लोकतन्त्रलाई प्राण दिने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाईन खबर डटकमद्वारा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपतिले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका हुन् ।

उनले भने, ‘युवाहरू भोलीको मात्र होइन आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । यो कुरा तपाईंहरूले व्यवहारबाटै प्रमाणित गरिसक्नुभएको छ । हामीले युवालाई ‘देशको भविष्य’ भनेर मात्रै पुग्दैन । आजको अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति अहिले नै आवश्यक छ भन्ने म ठान्दछु । नयाँ पुस्तासँग ऊर्जा छ, प्रविधि छ, संसारसँग प्रत्यक्ष सम्पर्क छ । तर त्योभन्दा महत्वपूर्ण कुरा—प्रश्न गर्ने साहस छ ।’

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवहरूबाट सिकेर अघि बढ्ने युवा चाहिएको बताए । उनले भने, ‘अर्थतन्त्रलाई नयाँ विचार दिने युवा, विज्ञानलाई जिज्ञासु युवा चाहिने स्पष्ट पार्नुभयो । समाजलाई विभेद स्वीकार नगर्ने युवा चाहिन्छ ।’

राष्ट्रपति पौडेलले प्रविधि प्रयोग गर्न तर विवेकलाई प्रविधिको जिम्मा नछोड्न युवालाई आग्रह गरे । उनले भने, ‘विश्वसँग प्रतिस्पर्धा गर्नुहोस्, तर आफ्नो समाजसँगको सम्बन्ध कहिल्यै नतोड्नुहोस् । देशलाई तपाईंहरूको प्रतिभा मात्र होइन, तपाईंहरूको इमान्दारी पनि चाहिएको छ ।’

देशका गाउँ, शहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो र विदेशका विभिन्न कुनामा हजारौं नेपाली युवा चुपचाप काम गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, ‘आज यहाँ ४० मुनीका ४० मा छनौट नभएका ती सम्पूर्ण युवाको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले यस्ता पारदर्शी, समावेशी र विविधताको मर्म अनुरूपका छनोट विधिले अवसर नपाएका, मूलप्रवाहको नजर नपुगेका र सीमित स्रोतबीच उल्लेखनीय काम गरिरहेका युवासम्म दृष्टि पुर्याउनेछ नै । यस प्रक्रियामा सहभागी निर्णायक मण्डल तथा सम्पूर्ण टोलीलाई पनि धन्यवाद दिन चाहन्छु ।’

राष्ट्रपति पौडेलले पछिल्ला वर्षहरूमा नेपालको सामाजिक र राजनीतिक बहसमा युवा पुस्ताको आवाज अझ स्पष्ट र प्रभावशाली रूपमा सुनिन थालेको भन्दै यो उपस्थितिलाई पुस्तान्तरणका रुपममा मात्रै नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा पनि विकास गर्न सक्नुपर्ने बताए । उनले राष्ट्रको भविष्य कुनै एउटा भाषण, एउटा योजना वा एउटा पुस्ताले मात्र नबनाउने भन्दै भने, ‘हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्छ । अब तपाईंहरूको पालो छ । एउटै आग्रह – आवेगको धनी हुनुहुन्छ, यसमा विवेक थप्न अझ मेहनत गरौं ।’

उनले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको बताउदै भने, ‘यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्ने र्छ । असहमति लोकतन्त्रको कमजोरी होइन; जिम्मेवार असहमति लोकतन्त्रको शक्ति हो । यहि शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो लक्ष्यमा पुर्याउँंछ भन्ने मेरो बुझाई छ ।’

राष्ट्रपति पौडेलले संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको बताए । उनले स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्ने उल्लेख गर्दै भने, ‘लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने पनि हामीले बिर्सन हुन्न । राज्यका सबै अंगले यसको मर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने म ठान्दछु । यही दर्शनका लागि संघर्ष गर्दागर्दै मैले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको म स्मरण गर्न चाहन्छु ।’

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार