२०८३, श्रावण २५ गते

Switch TV Mode

सोमवार, श्रावण २५ गते २०८३

माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

सोमवार , श्रावण २५, २०८३

जकार्ता । इन्डोनेसियाले देशका विभिन्न क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणका लागि हेलिकप्टर, सयौँ अग्निनियन्त्रक तथा विपद् व्यवस्थापनकर्मी परिचालन गरेको छ । पूर्वी जाभाको लोकप्रिय ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा लागेको डढेलो सबैभन्दा ठूलो रहेको अधिकारीहरूले बताएका छन् । हालसम्म करिब ७४३ हेक्टर क्षेत्रफल जलेको बताइएको छ ।

इन्डोनेसियाको वन मन्त्रालयका अनुसार सुक्खा मौसम तथा एल निनोको प्रभावका कारण देशमा वन तथा जमिनमा डढेलो फैलिने जोखिम बढेको छ ।

डढेलोले सुक्खा घाँसे मैदान, वनस्पति तथा संरक्षित एडेलवाइस फूलको ठूलो क्षेत्र जलेर नष्ट भएको मन्त्रालयले जनाएको छ । आगो पर्यटकका लागि लोकप्रिय पेनान्जाकान क्षेत्रसम्म फैलिएको भए पनि हालसम्म मानवीय क्षति वा स्थानीय बासिन्दालाई स्थानान्तरण गर्नुपरेको विवरण प्राप्त भएको छैन ।

आगो नियन्त्रणका लागि अग्निनियन्त्रक, सैनिक, प्रहरी, राष्ट्रिय निकुञ्जका कर्मचारी तथा स्वयंसेवक परिचालन गरिएको छ । अधिकारीहरूले अर्को सूचना जारी नभएसम्म राष्ट्रिय निकुञ्जमा पर्यटकको प्रवेशमा रोक लगाएका छन् ।

जमिनबाट पुग्न कठिन क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न सोमबारसम्म कम्तीमा तीन हेलिकप्टरबाट पानी खसाल्ने अभियान सञ्चालन गरिएको छ । जमिनमा रहेका टोलीले आगो फैलिन नदिन अग्निनियन्त्रण, पानी छर्कने, गस्ती तथा फायरब्रेक निर्माणको काम गरिरहेका छन् ।

वनमन्त्री राजा जुली एन्टोनीले आगलागी नियन्त्रण तथा पूर्वानुमानका लागि विभिन्न निकायबीच समन्वय भइरहेको बताएका छन् । उनले चुरोटका ठुटा जथाभावी नफाल्न तथा आगो लगाएर जमिन सफा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसैबीच, सुमात्रा टापुको जाम्बी प्रान्तमा पनि ५० हेक्टरभन्दा बढी पीटभूमि जलेको छ । आगलागीका कारण केही क्षेत्रमा धुवाँ फैलिएको र वायुको गुणस्तरमा असर पर्ने चिन्ता बढेको अधिकारीहरूले बताएका छन् ।

मुआरो जाम्बी जिल्लाको सुङ्गाई गेलाम गाउँमा बुधबारदेखि लागेको आगोले स्थानीयको स्वामित्वमा रहेका दर्जनौँ हेक्टर तेलपाम बगानमा क्षति पुर्याएको छ ।

आगो नियन्त्रणका लागि करिब ३०० अग्निनियन्त्रक तथा विपद् व्यवस्थापनकर्मी परिचालन गरिएको छ । तीन हेलिकप्टरबाट हवाई अग्निनियन्त्रण अभियान सञ्चालन भए पनि बाक्लो पीट माटो, पानीको सीमित उपलब्धता, दुर्गम भूभाग तथा तीव्र हावाका कारण आगो नियन्त्रणमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकायले आगामी अगस्ट र सेप्टेम्बरमा डढेलोको जोखिम अझ बढ्न सक्ने चेतावनी दिएको छ । सुक्खा वनस्पति र तीव्र हावाले आगो तीव्र गतिमा फैलिन सक्ने बताइएको छ । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार