काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आचार्यले संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसदीय सुधार समिति गठन गर्न माग गरेका हुन् । उनले संसदलाई सिर्जनात्मक बनाउन संसदीय सुधार समितिले काम गर्ने बताए ।
उनले भने, ‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भनेर बोलेको छु । हामी सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौं ? एउटा सर्वेक्षण गरौं, के हाम्रो क्षमता अहिलेको अभ्यासले सही दिशामा निकालेको छ त ? यदि छ भने मलाई समस्या छैन। तर मेरोजस्तै बुझाइ धेरै जना सांसदको हो भने संसदीय अभ्यास सुधार्न सबै मिलेर काम गर्नुपर्छ। एउटा संसदीय सुधार समिति बनाएर काम गर्नुपर्छ ।’