काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद तामाङले बर्खायाममा कानुनअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेध गरिए पनि तस्करी नरोकिएको बताइन्।
उनले भनिन्,‘बर्खे महिनाहरूमा कानुन र नियमअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेधित छ । तर तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन्।’ समस्या नदीजन्य पदार्थको उत्खननमा मात्र नभई कानुनी प्रक्रिया पनि जटिल रहेको उनको भनाइ छ।
‘मेरो मनसाय ढुंगा, गिटी र बालुवा निकाल्न पाउनु हुँदैन भन्ने पटक्कै होइन। तर यसको सही व्यवस्थापनमा कानुन बाधक बन्नु हुँदैन भन्ने चाहिँ हो,’ उनले भनिन्।
वातावरण संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम हुने गरी विद्यमान कानुनी व्यवस्था संशोधन गर्नुपर्नेमा उनले जोड दिइन्।