२०८३, मंसिर १४ गते

Switch TV Mode

आइतवार, मंसिर १४ गते २०८३

Advertisement

Advertisement

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

आइतवार , मंसिर १४, २०८३

दमौली । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ ।

आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए ।

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन् । सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए ।

भण्डारीले भने, “विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो । निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ ।”

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे ।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ । १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार