काठमाडौं: नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पाएका निजी कम्पनीमध्ये अधिकांश असफल भएर बाहिरिएका छन् । कुनै कम्पनीले लाइसेन्स नवीकरण गर्न सकेनन्, कुनैले पूर्वाधार विस्तार गर्न सकेनन् त कुनै बक्यौता र नियामकीय विवादमै अल्झिए । तर, यही प्रतिकूल व्यावसायिक वातावरणमा दुई दशकभन्दा बढी समयदेखि सेवा सञ्चालन गरिरहेको एनसेलले भने आफ्नो उपस्थिति कायम राखेको छ ।
नेपालमा दूरसञ्चार क्षेत्रमा निजी लगानी भित्र्याउने र प्रतिस्पर्धा बढाउने बहस फेरि सुरु भएको छ । सरकार र नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो टेलिकम अपरेटर भित्र्याउने सम्भावनाबारे अध्ययन गरिरहेका छन् । तर, विगतमा स्मार्ट टेलिकम, युनाइटेड टेलिकम लिमिटेड (युटिएल), नेपाल स्याटेलाइट टेलिकम र सिजी कम्युनिकेसनजस्ता कम्पनी टिक्न नसकेको अनुभवले नयाँ अपरेटर ल्याउनु मात्र समाधान नभएको देखाउँछ ।
यसले नेपालको दूरसञ्चार क्षेत्रमा लगानीको सुरक्षा, नीतिगत स्थिरता, नियामकीय स्पष्टता र दीर्घकालीन व्यावसायिक सम्भावनाको प्रश्नलाई फेरि सतहमा ल्याएको छ। विशेषगरी, निजी क्षेत्रबाट ठूलो पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमता लगानी गरेर दूरसञ्चार सेवा सञ्चालन गरिरहेको एनसेलको अनुभवलाई बेवास्ता गरेर नयाँ प्रतिस्पर्धी खोज्नु पर्याप्त हुँदैन ।
नेपालमा हाल नेपाल टेलिकम र एनसेल गरी दुई ठूला मोबाइल सेवा प्रदायक सक्रिय छन् । दुई कम्पनीको बजार उपस्थितिलाई प्रतिस्पर्धाको सीमितता भनेर व्याख्या गरिए पनि निजी लगानीकर्ताले भोग्नुपरेको व्यावसायिक तथा नीतिगत जोखिमको समीक्षा नगरी अर्को कम्पनी ल्याउँदा विगतकै समस्या दोहोरिन सक्ने सरोकारवालाहरू बताउँछन् ।
नेपालमा दूरसञ्चार सेवा सञ्चालनका लागि विभिन्न समयमा ६ वटा कम्पनीले अनुमति पाएका थिए । तर, तीमध्ये चारवटा निजी कम्पनीले आफ्नो व्यवसाय निरन्तरता दिन सकेनन् ।
निजी क्षेत्रको लगानी टिकाउन नसकेको नेपालको दूरसञ्चार बजार
नेपालमा दूरसञ्चार सेवा सञ्चालनका लागि विभिन्न समयमा ६ वटा कम्पनीले अनुमति पाएका थिए । तर, तीमध्ये चारवटा निजी कम्पनीले आफ्नो व्यवसाय निरन्तरता दिन सकेनन् ।
सन् २००० को दशकमा स्पाइस नेपालको नामबाट नेपाल प्रवेश गरेको कम्पनीले भने मेरो मोबाइल हुँदै एनसेलका रूपमा आफ्नो व्यवसाय विस्तार गर्यो । अन्य कम्पनी असफल भइरहेका बेला एनसेलले देशभर मोबाइल नेटवर्क विस्तार गर्दै निजी दूरसञ्चार सेवाको प्रमुख प्रदायकका रूपमा आफूलाई स्थापित गर्यो ।
यसको अर्थ नेपालको दूरसञ्चार बजारमा निजी लगानी असम्भव छ भन्ने होइन । बरु दीर्घकालीन लगानी, निरन्तर पूर्वाधार विस्तार र व्यावसायिक व्यवस्थापनका लागि स्थिर नीतिगत वातावरण कति आवश्यक हुन्छ भन्ने हो ।
चार कम्पनीको असफलता र एनसेलको निरन्तरता
नेपालको दूरसञ्चार क्षेत्रमा प्रवेश गरेका निजी कम्पनीहरूको अवस्था हेर्दा लगानी र सञ्चालन क्षमताबीचको अन्तर स्पष्ट देखिन्छ।
|
कम्पनी
|
अवस्था र मुख्य कारण
|
|
स्मार्ट टेलिकम (स्मार्ट सेल)
|
२०८० वैशाख ३ मा अनुमतिपत्र स्वतः खारेज। करिब ३० अर्ब रुपैयाँ सरकारी दायित्व र नवीकरण शुल्क तिर्न नसकेको
|
|
युनाइटेड टेलिकम (युटिएल)
|
२०८३ भदौ १९ मा नवीकरणको म्याद सकिएपछि अनुमतिपत्र खारेज। करिब ८ अर्ब रुपैयाँ सरकारी बक्यौता असुली प्रक्रिया
|
|
नेपाल स्याटेलाइट (हेलो नेपाल)
|
रोयल्टी, नवीकरण शुल्क र अन्य दायित्व नतिरेपछि सेवा तथा अनुमतिपत्रसम्बन्धी समस्या
|
|
सिजी कम्युनिकेसन्स (साविक एसटिएम टेलिकम)
|
पूर्वाधार विस्तार र अनुमतिपत्रका सर्त पूरा गर्न नसक्दा सेवा निरन्तरता दिन असफल
|
स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज हुँदा कम्पनीमाथि सरकारलाई तिर्नुपर्ने दायित्व करिब ३० अर्ब रुपैयाँ थियो । त्यसपछि कम्पनीका उपकरण तथा पूर्वाधार लिलामी गरेर बैंकको ऋण असुली गर्ने प्रक्रिया विवादमा पर्यो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकको सहवित्तीयकरण कर्जासँग जोडिएको यो प्रकरणमा बैंकले २०८२ असोज ३ मा लिलामी सूचना प्रकाशित गरेको थियो ।
२०८२ असोज २० मा एनसेलले ४ अर्ब ६० करोड रुपैयाँमा ती सम्पत्ति खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । तर, अनुमतिपत्र खारेज भएपछि दूरसञ्चार कम्पनीको सम्पत्ति सरकारको नियन्त्रणमा जाने कि बैंकले धितो लिलाम गरेर ऋण असुल गर्न पाउने भन्ने कानुनी विवाद उत्पन्न भयो।
यही विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी २२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। यसमा एनसेलका अधिकारीसमेत मुछिएका छन् । यद्यपि, अनुसन्धानमा नाम जोडिनु र कसुर प्रमाणित हुनु फरक विषय हुन्।
एनसेलले बैंकको लिलामी प्रक्रियाबाट उपकरण खरिद गरेको दाबी गर्दै भुक्तानी गरेको रकम र सम्पत्ति हस्तान्तरणको विषयमा कानुनी तथा नियामकीय स्पष्टता खोजिरहेको छ । राज्यले लगानीकर्तालाई सम्पत्ति खरिद गर्न अनुमति दिने कानुनी प्रक्रिया स्पष्ट नगरेको अवस्थामा निजी क्षेत्रले कसरी दीर्घकालीन लगानीको जोखिम लिने?
यो प्रकरणलाई एनसेलको मात्र विषयका रूपमा हेर्नु पर्याप्त हुँदैन। यसले बैंकको धितो सुरक्षण, लगानीकर्ताको सम्पत्ति अधिकार र दूरसञ्चार क्षेत्रको नियामकीय व्यवस्थामा स्पष्टता आवश्यक रहेको देखाएको छ।
एनसेलले बैंकको लिलामी प्रक्रियाबाट उपकरण खरिद गरेको दाबी गर्दै भुक्तानी गरेको रकम र सम्पत्ति हस्तान्तरणको विषयमा कानुनी तथा नियामकीय स्पष्टता खोजिरहेको छ । राज्यले लगानीकर्तालाई सम्पत्ति खरिद गर्न अनुमति दिने कानुनी प्रक्रिया स्पष्ट नगरेको अवस्थामा निजी क्षेत्रले कसरी दीर्घकालीन लगानीको जोखिम लिने?
एनसेलको बहिर्गमन घोषणाले दिएको नीतिगत चेतावनी
नेपालको दूरसञ्चार क्षेत्रमा निजी लगानीको सम्भावना कमजोर रहेको संकेत विदेशी लगानीकर्ता आजियाटा ग्रुपको बहिर्गमन घोषणाले पनि दिएको थियो।
आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत विवेक सूदले २०८० मंसिर १३ मा नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै एनसेलबाट बाहिरिने निर्णय सार्वजनिक गरेका थिए। त्यसको दुई दिनपछि २०८० मंसिर १५ मा जारी आधिकारिक विज्ञप्तिमा उनले नेपालको प्रतिकूल व्यावसायिक वातावरण, अनिश्चित नियामकीय तथा कर प्रणाली र २०८६ सालमा मोबाइल अनुमतिपत्रको अवधि समाप्त हुने जोखिमलाई लगानीबाट बाहिरिने निर्णयका प्रमुख कारणका रूपमा उल्लेख गरेका थिए।
आजियाटाको यो भनाइले नेपालमा अर्बौँ रुपैयाँ लगानी गरेको अन्तर्राष्ट्रिय दूरसञ्चार समूहले समेत दीर्घकालीन व्यावसायिक वातावरणप्रति विश्वास गुमाएको संकेत दिएको थियो ।
आजियाटाले आफ्नो स्वामित्व बिक्री गरे पनि एनसेलले नेपालमा सेवा सञ्चालन जारी राखेको छ । कम्पनीले दूरसञ्चार पूर्वाधार, नेटवर्क र ग्राहक सेवामा आफ्नो व्यावसायिक उपस्थिति कायम राखेको छ । यसले विदेशी लगानीकर्ता बाहिरिँदैमा कम्पनीको सञ्चालन क्षमता स्वतः समाप्त हुँदैन भन्ने देखाएको छ ।
एनसेलको अनुमतिपत्रको अवधि २०८६ साउन ३१ मा समाप्त हुने नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो निर्णयसँग सम्बन्धित विवरण सार्वजनिक भएको छ । अनुमतिपत्रको अवधि सकिएपछि सम्पत्ति व्यवस्थापन र सेवा निरन्तरताका विषयमा कम्पनीले प्राधिकरणलाई योजना बुझाउनुपर्ने व्यवस्था अघि बढाइएको छ ।
तेस्रो अपरेटर ल्याउने सरकारको तयारी
बजारमा दुईवटा मात्र प्रमुख मोबाइल सेवा प्रदायक रहेको भन्दै सरकारले तेस्रो अपरेटर ल्याउने सम्भावनाबारे अध्ययन अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गत वैशाख ३० मा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा तेस्रो टेलिकम अपरेटर आवश्यक रहेको बताएका थिए ।
उनले नेपालमा अहिले दुईवटा मात्र अपरेटर रहेकाले थप अपरेटर आवश्यक रहेको सरकारको बुझाइ रहेको उल्लेख गर्दै प्राधिकरणको अध्ययन समितिको सिफारिसपछि प्रक्रिया अघि बढाउने बताएका थिए ।
यसअघि २०८१ कात्तिकमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि तेस्रो मोबाइल अपरेटर ल्याउने विषयमा अध्ययन अघि बढाउन निर्देशन दिएका थिए। उनले अध्ययन समितिलाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।
सरकारले तेस्रो अपरेटर ल्याउन खोज्नुको एउटा कारण बजारमा प्रतिस्पर्धा बढाउनु हो । तर, प्रतिस्पर्धा बढाउने नाममा लगानीकर्तालाई आकर्षित गर्न नसक्ने नीतिगत व्यवस्था कायम राख्ने हो भने नयाँ कम्पनी पनि विगतका कम्पनीकै नियति भोग्न बाध्य हुन सक्छन् ।
दूरसञ्चार क्षेत्रमा टावर, फाइबर, स्पेक्ट्रम, नेटवर्क उपकरण र प्रविधिमा ठूलो लगानी आवश्यक पर्छ। लगानीको प्रतिफल प्राप्त हुन लामो समय लाग्छ। त्यसमाथि ओटीटी सेवाको विस्तारले परम्परागत भ्वाइस कल र एसएमएसबाट हुने आम्दानी घटाइरहेको छ। यस्तो अवस्थामा नयाँ कम्पनीले बजारमा प्रवेश गर्नुअघि नै कर, रोयल्टी, नवीकरण शुल्क र लगानीको प्रतिफलसम्बन्धी स्पष्टता खोज्नु स्वाभाविक हो ।
सरकारले तेस्रो अपरेटर ल्याउन खोज्नुको एउटा कारण बजारमा प्रतिस्पर्धा बढाउनु हो । तर, प्रतिस्पर्धा बढाउने नाममा लगानीकर्तालाई आकर्षित गर्न नसक्ने नीतिगत व्यवस्था कायम राख्ने हो भने नयाँ कम्पनी पनि विगतका कम्पनीकै नियति भोग्न बाध्य हुन सक्छन् ।
नयाँ लगानीकर्ता को–को आउन सक्छन्?
तेस्रो टेलिकम अपरेटरको सम्भावित प्रवेशसँगै नेपालका ठूला व्यावसायिक घराना र इन्टरनेट सेवा प्रदायकहरूको नाम चर्चामा आउने गरेको छ ।
चौधरी ग्रुपले सिजी कम्युनिकेसन्समार्फत लामो समयदेखि दूरसञ्चार क्षेत्रमा प्रवेश गर्ने चासो देखाउँदै आएको छ। सिजी नेटमार्फत इन्टरनेट सेवा दिइरहेको यो समूहले नीतिगत वातावरण अनुकूल भए मोबाइल सेवामा समेत विस्तार गर्न सक्ने सम्भावना छ।
रेमिट्यान्स, डिजिटल भुक्तानी, वित्तीय सेवा र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरिरहेको आईएमई ग्रुपलाई पनि सम्भावित लगानीकर्ताका रूपमा हेरिएको छ। तर, समूहले तेस्रो मोबाइल अपरेटर बन्न औपचारिक रूपमा लगानी प्रस्ताव गरेको पुष्टि भएको छैन।
देशभर इन्टरनेट पूर्वाधार विस्तार गरेका वर्ल्डलिंक र डिशहोमजस्ता कम्पनीले पनि मोबाइल तथा दूरसञ्चार सेवामा विस्तारको सम्भावना खोज्न सक्छन्। विशेषगरी मोबाइल भर्चुअल नेटवर्क अपरेटर (एमभीएनओ) र पूर्वाधार साझेदारीको व्यवस्था खुला भए उनीहरूका लागि बजार प्रवेश सहज हुन सक्छ । तर, यी कम्पनीलाई निश्चित रूपमा तेस्रो अपरेटरका दाबेदार भन्न सकिने अवस्था छैन। सरकारले स्पष्ट नीति र लगानीको ढाँचा सार्वजनिक गरेपछि मात्र वास्तविक इच्छुक लगानीकर्ताको पहिचान हुन सक्छ ।
स्मार्ट टेलिकम प्रकरणले बैंकलाई पनि हच्कायो
तेस्रो अपरेटर ल्याउने योजनामा अर्को ठूलो चुनौती बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउनु हो। स्मार्ट टेलिकम प्रकरणले दूरसञ्चार क्षेत्रमा बैंकको ऋण लगानी र धितो सुरक्षणको विषयलाई समेत जटिल बनाएको छ।
स्मार्ट टेलिकममा बैंकहरूको करिब ५ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कर्जा फसेको थियो। ऋण असुलीका लागि बैंकले धितोमा रहेका उपकरण लिलामी गर्दा दूरसञ्चार प्राधिकरणले कम्पनीको सम्पत्ति आफ्नो नियन्त्रणमा आउनुपर्ने दाबी गर्यो। त्यसपछि बैंकको धितो अधिकार र प्राधिकरणको कानुनी अधिकारबीच विवाद उत्पन्न भयो।
बैंकले सुरक्षित कारोबार ऐन तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार धितो बिक्री गरेर ऋण असुल गर्न पाउनुपर्ने तर्क गर्दै आएको छ। अर्कोतर्फ, दूरसञ्चार ऐन तथा सम्पत्ति व्यवस्थापनसम्बन्धी नियमावलीअनुसार अनुमतिपत्र खारेज भएपछि दूरसञ्चार पूर्वाधार सरकारको नियन्त्रणमा जाने व्यवस्था छ।
नेपालमा नयाँ टेलिकम कम्पनी सञ्चालन गर्न अर्बौँ रुपैयाँको प्रारम्भिक पुँजी आवश्यक पर्छ। टावर, नेटवर्क, फाइबर र प्रविधिमा ठूलो लगानी गर्नुपर्ने भएकाले स्वदेशी बैंकको ऋणबिना परियोजना सञ्चालन गर्न कठिन हुन सक्छ। तर, ऋण लगानी गरेपछि धितो सुरक्षण र ऋण असुलीको अधिकार नै विवादमा पर्ने हो भने बैंकहरू लगानी गर्न उत्साहित हुने छैनन्।
यही विवादमा बैंकका उच्च अधिकारीसमेत अनुसन्धानको दायरामा आएपछि बैंकहरू नयाँ दूरसञ्चार परियोजनामा लगानी गर्न थप सतर्क भएका छन्।
नेपालमा नयाँ टेलिकम कम्पनी सञ्चालन गर्न अर्बौँ रुपैयाँको प्रारम्भिक पुँजी आवश्यक पर्छ। टावर, नेटवर्क, फाइबर र प्रविधिमा ठूलो लगानी गर्नुपर्ने भएकाले स्वदेशी बैंकको ऋणबिना परियोजना सञ्चालन गर्न कठिन हुन सक्छ। तर, ऋण लगानी गरेपछि धितो सुरक्षण र ऋण असुलीको अधिकार नै विवादमा पर्ने हो भने बैंकहरू लगानी गर्न उत्साहित हुने छैनन्।
एनसेलको अनुभवबाट सरकारले के सिक्नुपर्छ?
नेपालमा तेस्रो टेलिकम अपरेटर ल्याउने सरकारी योजनालाई सफल बनाउन सबैभन्दा पहिले नीतिगत स्थिरता र लगानी सुरक्षाको प्रत्याभूति आवश्यक छ। विगतमा निजी कम्पनीहरू असफल हुनुका कारण केवल व्यावसायिक कमजोरी मात्र थिएनन्। लाइसेन्स शुल्क, सरकारी बक्यौता, पूर्वाधार विस्तारको लागत, नियामकीय जटिलता र व्यवस्थापकीय कमजोरी पनि त्यसका कारण थिए।
एनसेलको अनुभवले भने नेपालमा ठूलो निजी दूरसञ्चार कम्पनी सञ्चालन गर्न सम्भव रहेको देखाएको छ। तर, यस्तो लगानीलाई निरन्तरता दिन दीर्घकालीन व्यावसायिक वातावरण उत्तिकै महत्वपूर्ण हुन्छ।
त्यस्तै, एनसेलको अनुमतिपत्र अवधि समाप्त हुने समयलाई पनि सरकारले अहिलेबाटै स्पष्ट कार्ययोजनासहित व्यवस्थापन गर्नुपर्ने जानकारहरू बताउँछन् । ठूलो लगानी, हजारौँ कर्मचारी, लाखौँ ग्राहक र देशभर फैलिएको पूर्वाधारसँग जोडिएको कम्पनीको भविष्यबारे अन्तिम समयमा निर्णय गर्दा त्यसको असर समग्र दूरसञ्चार क्षेत्रमा पर्न सक्छ ।
विगतमा चारवटा निजी कम्पनी बाहिरिनुको कारण खोजेर त्यसलाई सच्याउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने विज्ञहरू बताउँछन् । एनसेलजस्तो कम्पनीले लामो समयदेखि सञ्चालन गरेको नेटवर्क, पूर्वाधार र सेवा अनुभवलाई समेत राष्ट्रिय दूरसञ्चार क्षमताका रूपमा हेर्न आवश्यक छ ।
नेपाललाई नयाँ टेलिकम अपरेटर चाहिएको हो भने त्यसका लागि लगानीमैत्री वातावरण पनि चाहिन्छ । पुराना कम्पनी असफल हुने र नयाँ कम्पनी ल्याउने चक्र दोहोर्याउनुको सट्टा नेपालमा आएका निजी लगानीलाई टिकाउने नीति बनाउनु नै दूरसञ्चार क्षेत्रको दीर्घकालीन हितमा हुने जानकारहरू बताउँछन् ।