काठमाडौं । नेकपा एमालेले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सरकारको उक्त कदमलाई आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।
उनले घर भत्काएर पुनर्वासको आश्वासन दिएको सरकारले महिनौँसम्म अनिश्चिततामा राखेपछि अहिले अस्थायी आश्रयसमेत खोस्न खोज्नु संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत भएको बताएका छन् ।
राज्य नागरिकको अभिभावक हुनुपर्ने उल्लेख गर्दै आचार्यले बेघर नागरिकलाई थप बेघर बनाउने काम सरकारबाट हुन नहुने बताएका छन् ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
आचार्यले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने निर्णय तत्काल फिर्ता गरी उनीहरूका लागि सुरक्षित वैकल्पिक आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।