२०८३, कार्तिक १९ गते

Switch TV Mode

बुधवार, कार्तिक १९ गते २०८३

विगतका मतभेद बिर्सेर कम्युनिस्ट एकतामा जुटौँः प्रचण्ड

मंगलवार , कार्तिक १८, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउन सबै वामपन्थी शक्तिलाई एकै ठाउँमा आउन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले विगतका विवाद, मतभेद र असमझदारीलाई थाती राखेर नयाँ आधारमा एकताको प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिस्ट आन्दोलनको एकताका लागि पुनः सहकार्य गर्न आह्वान गरे । साथै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता मोहन वैद्यलाई पनि एकताको अभियानमा जोडिन आग्रह गरे ।

उनले भने, ‘माधवजीले केपी ओलीको नाम लिँदा अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओली, मोहनविक्रमजी, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिष्ट समूहहरूले देशको वस्तुगत आवश्यकता हेरेर एकताबद्ध हुन जरुरी छ । म फेरि पनि भन्न चाहन्छु, नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ । अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता, देशभक्त र लोकतन्त्रवादीहरूको एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ ।’

प्रचण्डले विगतमा पनि कम्युनिस्ट पार्टीहरूबीच एकता गराउन आफूले विभिन्न चरणमा पहल गरेको स्मरण गरे । शान्ति प्रक्रियापछि तत्कालीन एमालेसँग पटक–पटक छलफल र प्रस्ताव भएको तथा पछि चुनावी तालमेल हुँदै पार्टी एकता भएको उनले बताए ।

उक्त एकतापछि भएको निर्वाचनमा झन्डै दुईतिहाइ जनमत प्राप्त भए पनि जनताको अपेक्षाअनुसार सुशासन र समाजवाद स्थापनाको दिशामा काम गर्न नसकिएको उनले स्वीकार गरे ।

विगतको एकता टिकाउन नसकिएको भन्दै अब पनि एकताको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने उनको भनाइ थियो । विगतका कमजोरी सच्याउँदै राष्ट्रिय हित र जनताको अपेक्षालाई केन्द्रमा राखेर कम्युनिस्ट शक्तिहरूबीच नयाँ एकता आवश्यक रहेको उनले बताए ।

प्रचण्डले हालैको पार्टी एकतालाई बृहत् कम्युनिस्ट एकताको सुरुवाती कदमका रूपमा व्याख्या गर्दै सबै वामपन्थी नेताहरूलाई साझा राजनीतिक अभियानमा सहभागी हुन आग्रह गरे ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार