काठमाडौं । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ ।
स्थापनाको ३० औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित क्यानसँग सहकार्य गरेको हो।
सम्झौताअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ।
कम्पनीले एनपीएल हेर्न आउने दर्शकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
यसैगरी, खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न कम्पनीले ‘हेल्दी पार्टनरसिप अवार्ड’ अन्तर्गत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ। त्यस्तै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हाटविट मुमेन्ट अफ द म्याच’ पुरस्कार प्रदान गरिनेछ।
यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिँदै आर्य फार्माल्याबले लोकप्रिय खेल क्रिकेटको माध्यमबाट धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउने अपेक्षा गरेको छ।