काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो ।
समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा भारतीय विदेशमन्त्री जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री वाग्ले अतिथि वक्ताका रूपमा थिए । अर्थमन्त्री वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले व्यापार र आर्थिक क्षेत्रमा बहुपक्षीयतालाई प्राथमिकता दिएको स्मरण गर्दै पछिल्ला वर्षमा त्यसको आधार कमजोर बन्दै गएको उल्लेख गरे ।
उनले व्यापारिक गुटको विस्तार र विश्वव्यापी विखण्डन बढिरहेको अवस्थामा विपत् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे जिज्ञासा राखे ।
वाग्लेले अन्तर्राष्ट्रिय सहकार्यका विभिन्न प्रयासलाई औपचारिक संस्थागत संरचनाले बलियो बनाउनुपर्ने हो वा साझेदार मुलुकबीचको समझदारीका आधारमा अघि बढाउनु उपयुक्त हुने हो भन्ने प्रश्नसमेत गरेका थिए ।
‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ अर्थमन्त्री वाग्लेले प्रश्न गर्दै बहुध्रुवीय विश्व व्यवस्थालाई क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा जयशंकरको धारणा मागे ।
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक सहकार्यमार्फत अघि बढ्न आकर्षित हुँदै गएको बताए ।
उनका अनुसार औपचारिक संस्थागत संरचना निर्माण गर्ने क्रममा आपसी वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमै धेरै समय खर्च हुने हुँदा कतिपय अवस्थामा मूल उद्देश्य नै ओझेलमा पर्ने गरेको छ ।
औपचारिक संरचना आवश्यक पर्ने क्षेत्रमा त्यस्तो व्यवस्था उपयुक्त हुने उल्लेख गर्दै उनले सबै सहकार्यलाई संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको बताए । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सहकार्यको स्वरूप विषय, साझेदार र प्रतिबद्धताको स्तरअनुसार फरक हुन सक्ने बताए ।
जयशंकरले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गरे । उनले ब्रिक्स र सांघाई सहयोग संगठनको संरचनाबीच रहेको भिन्नतालाई औँल्याउँदै सहकार्यका सबै संयन्त्रको स्वरूप एउटै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट पारे ।
‘तपाईंले मलाई प्रवृत्तिबारे सोध्नुभयो भने, म भन्छु, प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,’ भारतीय मन्त्री जयशंकरले भने ।
भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीयभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको प्रसंग उल्लेख गर्दै उनले कम प्रशासनिक भार र परिणाममुखी सहकार्यप्रति देशहरूको रुचि बढिरहेको बताए ।
यसअघि अर्थमन्त्री वाग्लेले नेपालले भारतबाट प्राप्त गरेको विपत् प्रतिकार्य सहयोगको प्रशंसा गरेका थिए । उनले सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोसी क्षेत्रमा भएको विपत्का बेला भारतले केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै नेपाल त्यसप्रति कृतज्ञ रहेको बताए ।
विश्वव्यापी तनाव, आर्थिक विखण्डन र ठूला शक्तिको बदलिँदो भूमिकाबीच अन्तर्राष्ट्रिय सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित उक्त संवादले बहुपक्षीयता, क्षेत्रीय साझेदारी र परिणाममुखी कूटनीतिबारे दुई नेताबीच विचार आदानप्रदानको अवसर प्रदान गरेको छ ।