काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापति खुलातर्फ डा. चन्द्र भण्डारी र महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन् ।
४ हजार १०० मत गणना हुँदा उपसभापति खुलातर्फ डा. भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मधु आचार्यले १ हजार २७८, गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा. डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेलले २ हजार ३९१ मतसहित अग्रता लिएका छन् । उदयशमशेर राणाले १ हजार ३३३, डा. सुनिलकुमार शर्माले १ हजार १७५, अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत पाएका छन् ।
उपसभापतिको समावेशीतर्फ एक पदका लागि विनोदकुमार चौधरीले १ हजार २६ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत प्राप्त गरेका छन् ।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले १ हजार ८१६ मत प्राप्त गरेकी छन् । महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ६३१ र रीता खनालले ४२० मत पाएकी छन् ।