२०८३, आश्विन २५ गते

Switch TV Mode

आइतवार, आश्विन २५ गते २०८३

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समाचारमा सम्मानजनक स्थान दिन आग्रह

आइतवार , आश्विन २५, २०८३

काठमाडौँ । ब्लु डायमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दामा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आइतबार आयोजित कार्यक्रममा सञ्चारमाध्यममा यस समुदायको प्रतिनिधित्व, समाचार लेखनमा प्रयोग हुने भाषा, मानव मर्यादा, गोपनीयता तथा समावेशी पत्रकारिताका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा प्रस्तुत तथ्यअनुसार, सञ्चारमाध्यममा प्रकाशित सामग्रीमध्ये ७५ प्रतिशत समलिङ्गी पुरुष र ट्रान्सजेन्डर महिलासँग सम्बन्धित रहेको पाइएको छ। बालबालिका तथा किशोरकिशोरीका मुद्दामा छुट्टै समाचार नहुनु, लेस्बियन, बाइसेक्सुअल, ट्रान्सजेन्डर तथा इन्टरसेक्स समुदायको न्यून प्रतिनिधित्व र काठमाडौंकेन्द्रित समाचार प्रकाशन प्रमुख चुनौतीका रूपमा औँल्याइएका थिए।

त्यस्तै, सरकारी निकाय तथा गैरसरकारी संस्थाका स्रोतमा बढी निर्भर हुने र समुदायका दैनिक जीवनका विषयभन्दा विशेष घटनामा केन्द्रित भएर समाचार लेख्ने प्रवृत्तिले पनि समावेशी पत्रकारितामा चुनौती थपेको चर्चा गरिएको थियो।

कार्यक्रममा समाचार लेख्दा संवेदनशील तथा सम्मानजनक शब्दको प्रयोग, समुदायका विविध आवाजलाई स्थान, व्यक्तिगत गोपनीयताको संरक्षण र सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइयो। प्रस्तुत प्रतिवेदनअनुसार, अनुगमन गरिएका ६८ प्रतिशत सामग्रीमा अधिकारमा आधारित दृष्टिकोण अपनाइएको थियो।

सञ्चारमाध्यमले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई सम्मानजनक, निष्पक्ष र विविधतापूर्ण रूपमा प्रस्तुत गर्नुपर्ने निष्कर्षसहित कार्यक्रममा पत्रकारितालाई थप जिम्मेवार र समावेशी बनाउने विषयमा छलफल भएको थियो।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार