काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिले देशमा कोही पनि सुरक्षित नभएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले सरकारले काम नगर्दा नागरिक सुरक्षित हुन नसकेको बताएका छन् ।
उनले भने, ‘हामी देशमा त छौँ तर कस्तो देशमा छौँ भन्ने कुराको उत्तर खोजिरहेका छौँ । यस्तो देश हाम्रो भयो जुन देशको प्रधानमन्त्रीले हामीले छिमेकी मुलुकको सिमाना मिचेका छौँ भन्नुपर्ने, त्यस्तो देश जुन देशमा सुरक्षा छैन । न्याय छैन, सेवा सुविधा र अवसर छैन । राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो । नागरिक आज सुरक्षित छैनन् । सांसद पनि सुरक्षित छैनन् ।’
उनले धाकधम्की दिनेविरुद्ध कारबाही नहुने गरेको बताए । उनले भने, ‘धम्की आइरहेको छ। रिपोर्ट गर्दा कारबाही नभइरहेको स्थिति छ । यात्रा गर्दा असुरक्षित महसुस गर्नुपर्ने स्थिति छ।’
उनले सरकारले जनताको दुःख महसुस गर्न नसकेको बताए । उनले भने, ‘दिनभर जनता ग्यासको लाइनमा बस्नेको पीडा कहिले बुझ्ने हो ? जनताको पीडा महसुस हुनुपर्ने हो । तर एसीको कोठा छ, एसी भएकै गाडी छ, घरमा पनि एसी छ । उसले कसरी जनताको पीडा बुझ्छ ?’ उनले प्रधानमन्त्रीको गैरजिम्मेवारीपनले देशमा समस्या उत्पन्न भइरहेको आरोप लगाए ।
अध्यक्ष साम्पाङले कोर्रा लगाउने कानुन बनाउन प्रस्ताव गरे । उनले मन्दिर र गुम्बा भत्काउने र मस्जिदमा आगो लगाउनेलाई कारबाही गर्नुपर्ने बताए ।
उनले भने, 'भर्खरै देशमा थुप्रै मस्जिदमा आगो लगाइयो। मदरसामा आगो लगाइयो। कहिले गुम्बा तोडिन्छन्। मन्दिर भत्काइन्छन्। कहिले माङखिम तोडिन्छन्। सरकारले कमजोर भएका कारण त्यो हुन्छ। सरकारले कारबाही नै गर्न सक्दैन । मेरो तेरो नभनी फटाहाहरुलाई क¥याप झ्याप पारेर हानौँ न कोर्रै कोर्राले। त्यस्तो कानुन बनाऊँ। यहि हो कानुन बनाउने ठाउँ। यसो लैजाने मायाले छानिबन गर्ने सोधपुछ गर्ने अनि सेटिङमा निस्केर हुन्छ। हुँदैन।’