२०८३, श्रावण २६ गते

Switch TV Mode

मंगलवार, श्रावण २६ गते २०८३

कांग्रेस सांसदको कटाक्षः प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ

मंगलवार , श्रावण २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले सरकारका कामकारबाहीमाथि प्रश्न उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद स्वाँरले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्रीले नेपालको भूमि भारतले मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गरे । स्वारले लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूभाग भारतले मिचेको विषयमा सरकार मौन बसेको आरोप लगाए ।

उनले सरकारले चुच्चे नक्सालाई बेवास्ता गरेको भन्दै प्रश्नसमेत गरे । भ्रष्टाचार छानबिनका लागि सबैको सम्पत्ति जाँच गर्नुपर्ने माग गर्दै उनले दोषी जोसुकै भएपनि न्यायालयको कठघरामा उभ्याउनुपर्ने बताए । विभिन्न समयमा गठन भएका छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न पनि उनले सरकारसँग माग गरे ।

स्वाँरले सरकारले जनतालाई आधारभूत सेवा दिन नसकेको आरोपसमेत लगाए । राहदानी, सवारी चालक अनुमतिपत्र, मालपोत, ग्यास, महँगी तथा स्वास्थ्य बिमालगायतका विषयमा सर्वसाधारणले समस्या भोगिरहेको उनले बताए ।

उनले प्रधानमन्त्रीसँग भेटका लागि आफूले चैत २१ गते लिखित निवेदन दिएको भए पनि अहिलेसम्म भेट्ने अवसर नपाएको बताए ।

उनले भने, ‘मैले भेट्ने टाइम माग्दा चैत २१ गतेबाट लिखित निवेदन उहाँका स्वकीयको हातमा थमाएको थिएँ । तर आजसम्म पनि भेट्ने मौका पाइँन । तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? यो समग्र सुदूरका जनता र अछामका जनतालाई माथि गरेको अपमान हो ।’

स्वाँरले सुदूरपश्चिमका जनताको विकास निर्माणका समस्या राख्न आफूले प्रधानमन्त्रीसँग भेट्न खोजे पनि समय नदिइएको गुनासो गरे ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार