काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्ने प्रस्ताव गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सांसद ढकालले राजनीतिक परिवर्तनपछि थुप्रै ठाउँहरूको नाम परिवर्तन भए पनि सिंहदरबारको नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले सिंह नभएकाले सिंहदरबार नाम उपयुक्त नभएको बताए । उनले भने, ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो । मतलब एयरपोर्टहरूको, कहाँ–कहाँको नाम फेरिए । तर त्यो सिंहदरबार भन्ने चाहिँ...न हामीसँग सिंह छ, हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ । त्यो चिर्न पर्ने छ ।’
उनले सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने बताए । उनले अहिलेको आवश्यकता एक अर्कालाई दोषारोपण गर्नुभन्दा नागरिकमा आशा र विश्वास जगाउने खालका बहस र पैरवी गर्नु रहेको बताए ।