कर्णाली । १० औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि सुरु हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भएपनि आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् ।
दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् । १०औँ खेलकुद अन्तर्गतका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोट्र्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।
यस्तै, टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ । प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रदेशहरूबाट खेलाडीहरु वीरेन्द्रनगर पुग्ने क्रम जारी छ । मंसिर १६ गते उद्घाटन हुने प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ ।