२०८३, कार्तिक १९ गते

Switch TV Mode

बुधवार, कार्तिक १९ गते २०८३

इजरायललाई दिँदै आएको वार्षिक ४ अर्ब डलर सहयोग रोक्दै अमेरिका

बुधवार , कार्तिक १९, २०८३

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक ४ अर्ब अमेरिकी डलर आर्थिक तथा सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन् ।

मंगलबार अमेरिकी मध्यावधि निर्वाचनका लागि मतदान भइरहेका बेला ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग यस विषयमा सहमति भएको बताएका हुन् । यद्यपि, उनले इजरायललाई आवश्यक परेको अवस्थामा हतियार बिक्री र अन्य सहयोग भने जारी राख्ने बताएका छन् ।

फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’सँगको कुराकानीमा ट्रम्पले इजरायललाई अब उक्त आर्थिक सहायता आवश्यक नरहेको बताएका थिए । उनका अनुसार इजरायललाई वार्षिक ४ अर्ब डलर दिने व्यवस्था अन्त्य गर्ने सहमति केही महिनाअघि नै भएको थियो ।

ट्रम्पले इजरायललाई दिइने अमेरिकी सहयोगलाई लिएर डेमोक्रेटिक पार्टीका केही नेता तथा वामपन्थी राजनीतिज्ञले रिपब्लिकन पार्टीको आलोचना गर्ने गरेको भन्दै त्यसलाई राजनीतिक बहसबाट हटाउन पनि यो निर्णय गरिएको संकेत गरेका छन् ।

यद्यपि, उनले सहायता रोक्ने प्रक्रिया र त्यसको कानुनी आधारबारे विस्तृत जानकारी दिएका छैनन् । अमेरिका र इजरायलबीच भएको समझदारीअनुसार अमेरिकाले इजरायललाई वार्षिक ३ अर्ब ८० करोड डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । उक्त समझदारी सन् २०२८ को सेप्टेम्बरसम्म कायम रहनेछ । त्यसैले ट्रम्पको घोषणाले विद्यमान सम्झौता कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्नसमेत उठाएको छ ।

सन् २०२८ पछि इजरायललाई दिइने अमेरिकी सहयोगको स्वरूपबारे यसअघि नै छलफल हुँदै आएको थियो । इजरायली प्रधानमन्त्री नेतन्याहुले पनि समयक्रमसँगै अमेरिकी सहायता घट्दै जाने अपेक्षा व्यक्त गरेका थिए ।

गाजा युद्धका कारण अमेरिकी जनमतमा इजरायलप्रतिको समर्थन घट्दै गएको सर्वेक्षणहरूले देखाएका छन् । दशकौँदेखि अमेरिकी राजनीतिमा इजरायललाई दिइने सैन्य सहायता दुवै प्रमुख दलबीच साझा समर्थनको विषय रहँदै आएकोमा पछिल्लो समय यसमा मतभेद बढेको छ ।

अमेरिका र इजरायल इरानसँगको द्वन्द्वमा समेत संलग्न रहेका बेला ट्रम्पको पछिल्लो घोषणालाई दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । अमेरिकी मध्यावधि निर्वाचनकै दिन गरिएको घोषणाको समयलाई केही विश्लेषकले चुनाव लक्षित राजनीतिक कदमका रूपमा व्याख्या गरेका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार