कञ्चनपुर । कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण गरिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउँदले यस वर्ष कञ्चनपुरमा १ दशमलव १९ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जानकारी दिए । गत वर्ष धानको उत्पादकत्व ० दशमलव २ ले बढेको थियो । गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको उनको भनाइ छ ।
‘जिल्लामा धानको उत्पादकत्वमा वृद्धि हुँदै गएको छ ।’ सूचना अधिकारी साउदले भने, ‘यस वर्ष मौसम अनुकुल हु्नु, उन्नत जातको बीउ बिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो ।’
उनका अनुसार यस वर्ष दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
केन्द्रले हरेक वर्ष सिँचाइ सुविधा विस्तार गर्दै गएकाले पनि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । ‘ज्ञान केन्द्रबाट हरेक वर्ष किसानका लागि उन्नत जातको बीउ अनुदानमा उपलब्ध हुँदै आएको छ ।’ उनले भने, ‘सिञ्चित क्षेत्र पनि हरेक वर्ष विस्तार हुँदै गएको छ ।’ उनका अनुसार ज्ञान केन्द्रबाट किसानका लागि हरेक वर्ष साना सिँचाइ (ट्युबेल) जडान गरी सिँचाइ सुविधा उपलब्ध गराउदै आएको बताए ।
‘गत वर्ष जिल्लामा किसानलाई ७५० बोरिङ उपलब्ध गराएकोमा यस वर्ष ४९५ बोरिङ सिँचाइका लागि उपलब्ध छ ।’ साउदले भने, ‘जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।’ उनले आधुकि कृषि यन्त्रका कारण पनि उत्पादनमा वृद्धि भएको बताए । ज्ञान केन्द्रले किसानलाई पचास प्रतिशत अनुदानमा बीउ बिजन र साना सिँचाइ (ट्युबेल) उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो समय कृषिमा प्रयोग हुने कृषि उपकरण र उन्नत बीउको उपलब्धताले खेती गर्न सहज भएका किसान बताउँछन् । ‘कमको लागतमा धान र गहुँ उत्पादन गर्न हामीलाई सहज भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–७ का राजेश्वरी जोशीले भनिन्, ‘नहरबाट सिँचाइ उपलब्ध नभएको ठाउँमा ज्ञान केन्द्रबाट आउने साना सिँचाइ (ट्युबेल)ले राहत भएको छ ।’ सरकारले खेतीको समयमा रासायनिक मल सहज रूपमा उपलब्ध गराउनसके उत्पादकत्व अझै बढ्ने किसानको अपेक्षा छ । ‘खेती गर्नका लागि सबै कुरा सहज बन्दै गएको छ सरकारले रासायनिक मल समय मै उपलब्ध गराउनुपर्छ ।’ यहाँका किसान हरिराम चौधरीले भने, ‘धान र गहुँ उत्पादनका लागि कञ्चनपुर अन्नभण्डार नै हो अहिले आधुनिकिकरणले किसानलाई खेतीगर्न सहज भएको छ ।’
कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । कञ्चनपुरमा हाल साना सिँचाइ बाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।
२०४२ सालमा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारको रूपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा खाद्य आपूर्ति हुने गरेको छ ।