२०८३, कार्तिक १४ गते

Switch TV Mode

शुक्रवार, कार्तिक १४ गते २०८३

क्रिप्टो इतिहासकै ठूलो ह्याकिङ : बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

शुक्रवार , कार्तिक १४, २०८३

रोयटर्स । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट ह्याकरहरूले ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन् । विश्लेषकहरूका अनुसार यो क्रिप्टोकरेन्सी क्षेत्रकै अहिलेसम्मको सबैभन्दा ठूलो साइबर आक्रमण हो ।

अमेरिकी ब्लकचेन विश्लेषण कम्पनीहरू टीआरएम ल्याब्स र चेनालाइसिसका अनुसार उक्त आक्रमणमा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता रहेको छ । ह्याकरहरूले १० वटा ब्लकचेनमा रहेका बाइनान्सका डिजिटल वालेटलाई निशाना बनाउँदै करिब २० मिनेटभित्र अधिकांश रकम अन्यत्र सारेका थिए ।

बाइनान्सले साझेदार संस्थाहरूसँगको सहकार्यमा चोरी भएका सम्पत्तिमध्ये करिब ३ अर्ब अमेरिकी डलर बराबरको रकम रोक्का गर्न सफल भएको जनाएको छ । बाँकी ३ अर्ब ३० करोड डलर बराबरको सम्पत्तिको अवस्थाबारे भने कम्पनीले स्पष्ट पारेको छैन ।

बाइनान्सकी सहसंस्थापक यी हेले ह्याकिङका कारण भएको सम्पूर्ण आर्थिक क्षति कम्पनीले व्यहोर्ने बताएकी छन् । कम्पनीका अनुसार प्रयोगकर्ताको निक्षेपमा कुनै असर परेको छैन । साथै, आगामी ४८ घण्टाभित्र निकासी सेवा पुनः सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।

टीआरएम ल्याब्सले यस आक्रमणका केही विशेषता उत्तर कोरियासँग जोडिएका यसअघिका साइबर चोरीका घटनासँग मिल्दोजुल्दो रहेको जनाएको छ । सन् २०२५ मा क्रिप्टो एक्सचेन्ज बाइबिटमा भएको ह्याकिङ पनि यसै प्रकृतिको रहेको र त्यसमा उत्तर कोरियाको संलग्नता रहेको अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको थियो ।

टीआरएम ल्याब्सले आक्रमणमा उत्तर कोरियाली समूहको संलग्नता रहेको निष्कर्ष उच्च विश्वासका साथ निकालिएको जनाएको छ । यस विषयमा जेनेभास्थित उत्तर कोरियाली नियोग र चीनस्थित उत्तर कोरियाली दूतावासले तत्काल प्रतिक्रिया दिएका छैनन् ।

क्रिप्टोकरेन्सी विश्लेषण कम्पनी चेनालाइसिससहितका क्षेत्रका विज्ञहरूले यस घटनालाई विश्वकै सबैभन्दा ठूलो क्रिप्टो चोरी हुन सक्ने बताएका छन् ।

घटनाको प्रभाव अन्तर्राष्ट्रिय बजारमा समेत देखिएको छ । शुक्रबार एसियाली बजारमा बिटक्वाइनको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेर ७६ हजार ३६८ अमेरिकी डलरमा झरेको थियो । यो पछिल्लो छ सातायताकै न्यून मूल्य हो ।

त्यस्तै, इथेरियमको मूल्य पनि तीन प्रतिशतभन्दा बढीले घटेर दुई हजार १७८ डलर पुगेको छ । बाइनान्सको कारोबार शुल्क तिर्न प्रयोग गर्न सकिने बीएनबी टोकनको मूल्य पछिल्लो २४ घण्टामा पाँच प्रतिशतले घटेर ७०९.७० डलरमा झरेको थियो ।

अमेरिकी क्रिप्टो एक्सचेन्ज कोइनबेसको सेयर मूल्य ४.८ प्रतिशतले घटेको छ भने बिटक्वाइनमा लगानी गर्ने कम्पनी स्ट्राटेजीको सेयर मूल्य अमेरिकी बजारको विस्तारित कारोबारमा करिब ६ प्रतिशतले ओरालो लागेको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार