बैंकक । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले सन् २०२६ को विश्व आर्थिक वृद्धिको अनुमान बढाएर ३।१ प्रतिशत पुर्याए पनि युद्धका कारण बढेको ऊर्जा मूल्य र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा लगानीले विश्व अर्थतन्त्रमा विभाजन बढाउने चेतावनी दिएको छ । सन् २०२५ मा विश्व आर्थिक वृद्धि ३.५ प्रतिशत थियो ।
आइएमएफले मङ्गलबार सार्वजनिक विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा विकसित अर्थतन्त्रले एआई प्रविधिमा भइरहेको लगानीबाट लाभ लिने भए पनि ऊर्जा आयातमा निर्भर न्यून आय भएका देशहरू महँगी र आपूर्ति सङ्कटबाट बढी प्रभावित हुने जनाएको छ ।
अमेरिकाले फेब्रुअरीदेखि इरानविरुद्ध जारी राखेको युद्धका कारण मध्यपूर्वमा तनाव बढ्नुका साथै प्रशोधित पेट्रोलियम पदार्थको मूल्य युद्धअघिको तुलनामा ७० देखि ९५ प्रतिशतसम्म महँगिएको प्रतिवेदनमा उल्लेख छ । युद्ध लम्बिए मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धि सुस्त हुने आइएमएफकी प्रमुख अर्थशास्त्री सिल्भाना टेन्रेइरोले बताइन् ।
आइएमएफका अनुसार सन् २०२६ मा मध्यपूर्व र मध्यएसियाको अर्थतन्त्र ०।३ प्रतिशतले खुम्चिनेछ भने साउदी अरेबियाको अर्थतन्त्र ३.३ प्रतिशतले सङ्कुचित हुने अनुमान छ । यसको विपरीत विकसित अर्थतन्त्रहरू २।१ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ । एआई प्रविधिको आपूर्ति शृङ्खलामा महत्त्वपूर्ण भूमिका रहेका ताइवान र दक्षिण कोरियाले तुलनात्मक रूपमा बढी लाभ लिनेछन् ।
चीनको आर्थिक वृद्धिदर भने ०।५ प्रतिशत विन्दुले घटेर ४।५ प्रतिशतमा सीमित हुने अनुमान छ । विश्वव्यापी मुद्रास्फीति सन् २०२६ मा ४।७ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण छ । एआई प्रविधिमा लगानीबाट अपेक्षित लाभ नआए लगानी घट्ने र वित्तीय अवस्था थप कडा हुने जोखिमसमेत प्रतिवेदनले औँल्याएको छ ।
टेन्रेइरोले आर्थिक जोखिम सामना गर्न सरकारले ऊर्जा तथा अन्य वस्तुको मूल्यवृद्धिबाट प्रभावित नागरिकलाई अस्थायी र लक्षित सहायता दिनुपर्ने बताइन् । मुद्रास्फीति नियन्त्रणमा राख्न मौद्रिक नीति मूल्य स्थिरतामा केन्द्रित गर्नुपर्ने र अर्थतन्त्रको वित्तीय क्षमता तथा आपूर्ति प्रणाली बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।