मस्को । युक्रेनमाथि रुसले आक्रमण गरेपछि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् । यो रकम युक्रेनलाई इयुले उपलब्ध गराएको सहयोगभन्दा बढी हो ।
रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार सन् २०२२ यता इयुका सदस्य राष्ट्रहरूमा उक्त मूल्य बराबरको ऊर्जा आपूर्ति गरिएको बताएका छन् । उनका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै युरोपेली देशहरूले २१ अर्ब ३० करोड डलर मूल्यको रुसी हाइड्रोकार्बन खरिद गरेका छन् ।
नोभाकले प्रतिबन्धका बाबजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा रुसी ऊर्जा आपूर्ति जारी रहेको बताए । यस वर्षको अन्त्यसम्ममा रुसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने उनको भनाइ छ ।
स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले भने रुसबाट ऊर्जा आयातमा भएको खर्च युक्रेनलाई उपलब्ध गराइएको सहयोगभन्दा बढी रहेको बताएकी छन् । उनका अनुसार युक्रेनमा युद्ध सुरु भएयता इयुले २१८ अर्ब ७० करोड युरो अर्थात् २४४ अर्ब डलर सहयोग उपलब्ध गराएको छ ।
रोक्का गरिएका रुसी सम्पत्ति प्रयोग गर्न सके युक्रेनलाई दिइएको सहयोग झन्डै दोब्बर बनाउन सकिने स्टेनरगार्डको भनाइ छ ।
इयुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि सदस्य राष्ट्रहरूले रुसी ऊर्जा खरिद पूर्ण रूपमा रोकेका छैनन् । फ्रान्सलगायतका देशले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात गरिरहेका छन् भने स्लोभाकिया र हङ्गेरीले पाइपलाइनमार्फत आउने रुसी तेल खरिदमा छुट पाएका छन् ।
त्यस्तै, भारत र टर्कीजस्ता देशमा प्रशोधन गरी युरोप पुर्याइने रुसी उत्पादन प्रत्यक्ष आयातको तथ्यांकमा समावेश छैन । भारत, टर्की र चीनले सन् २०२२ देखि रुसी कच्चा तेलको खरिद बढाएका छन् ।
यसैबीच, रुसी डिजेल आयात गर्न अमेरिकालाई अनुमति दिने सम्झौताको युरोपेली देशहरूले आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इयुले रुसलाई ऊर्जा खरिदबापत २५० अर्ब डलर तिरेको दाबी गर्दै आफ्नो निर्णयको बचाउ गरेका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि रुसी डिजेल खरिदसम्बन्धी अमेरिकी सम्झौताको आलोचना गर्ने युरोपेली देशहरूले आफैँ रुसबाट ऊर्जा आयात जारी राखेको भन्दै उनीहरूको व्यवहारलाई पाखण्डको संज्ञा दिएका छन् ।