२०८३, आश्विन २२ गते

Switch TV Mode

बिहिवार, आश्विन २२ गते २०८३

बलिउडका अभिनेता नाना पाटेकरको निधन

बिहिवार , आश्विन २२, २०८३

बीबीसी हिन्दी। भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको गोवामा निधन भएको हो । नाना पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना पिताको निधन भएको पुष्टि गरेका छन् ।

नाना पाटेकरको निधनप्रति वरिष्ठ पत्रकार राजदीप सरदेसाईले श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'एक शानदार अभिनेता, तर सबैभन्दा बढी एक प्रिय मित्र नाना पाटेकर अब रहनुभएन । केही समयअघि मात्र गोवामा उहाँको निधन भयो । हिजो मात्रै उहाँसँग कुराकानी भएको थियो । उहाँका अन्तिम शब्द थिए– ‘कालजी घे राजा’ अर्थात् आफ्नो ख्याल राख, राजा ।'

नाना पाटेकर पछिल्लो पटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर चलचित्र ‘ओ’रोमियो’ मा देखिएका थिए । शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको उक्त चलचित्र फेब्रुअरी २०२६ मा प्रदर्शन भएको थियो । चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए ।

उनले अनिल कपुर अभिनीत ‘सुबेदार’ मा पनि अभिनय गरेका थिए । उक्त चलचित्रको मार्च २०२६ मा प्राइम भिडियोमा प्रिमियर भएको थियो । त्यसअघि उनी ‘हाउसफुल–५’ (२०२५) र ‘वनवास’ (२०२४) मा देखिएका थिए ।

नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेतामध्ये एक थिए । चार दशकभन्दा लामो अभिनय यात्रामा उनले ‘परिन्दा’, ‘प्रहार : द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए ।

अभिनयसँगै पाटेकरले ‘प्रहार : द फाइनल अट्याक’ चलचित्रको निर्देशनसमेत गरेका थिए । चलचित्र तथा कला क्षेत्रमा उनको योगदानका लागि सन् २०१३ मा भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो ।

नाना पाटेकरले सन् १९७८ मा प्रदर्शन भएको चलचित्र ‘गमन’ बाट बलिउडमा प्रवेश गरेका थिए । सन् २००० को दशकको सुरुवातदेखि उनको अभिनयले व्यापक प्रशंसा पाएको थियो । विशेषगरी ‘शक्ति : द पावर’ (२००२), ‘अब तक छप्पन’ (२००४), ‘अपहरण’ (२००५) र ‘ट्याक्सी नम्बर ९२११’ (२००६) मा उनको अभिनय चर्चित बनेको थियो ।

सन् २००७ मा आएको हास्य चलचित्र ‘वेलकम’ मा ग्याङ्स्टर उदय शेट्टीको भूमिकामार्फत उनले दर्शकको मन जितेका थिए । पछि ‘वेलकम ब्याक’ (२०१५) मा पनि उनले यही भूमिका दोहोर्याएका थिए । पाटेकरले हास्य–थ्रिलर चलचित्र ‘हाउसफुल–५’ मा समेत सहायक भूमिका निर्वाह गरेका थिए ।

सन् २०१० मा उनी राजनीतिक थ्रिलर ‘राजनीति’ मा देखिएका थिए । उक्त चलचित्रका लागि उनी उत्कृष्ट सहायक अभिनेतातर्फ पाँचौँ पटक फिल्मफेयर पुरस्कारका लागि मनोनयनमा परेका थिए ।

अभिनयबाहेक पाटेकरले पाश्र्व गायनमा समेत योगदान दिएका थिए । उनले ‘यशवन्त’ (१९९७), ‘वजूद’ (१९९८) र ‘आँच’ (२००३) लगायतका चलचित्रमा आफ्नो आवाज दिएका थिए । अभिनय, निर्देशन र रङ्गमञ्च गरी तीनै क्षेत्रमा सक्रिय नाना पाटेकरको चार दशकभन्दा लामो कलायात्रा उनको निधनसँगै टुङ्गिएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार