काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा थापाले भदौ २३ र २४ पछि देशमा नयाँ परिस्थिति सिर्जना भए पनि आफूले नयाँ पार्टी गठन गरेर नेतृत्व गर्नेभन्दा आफूले १४ वर्षदेखि झन्डा बोकेको कांग्रेसलाई नै सुधार्ने बाटो रोजेको बताए ।
‘पार्टीको भ्यालु ठीक छैन भने सच्याउन लाग्ने हो। बदल्न प्रयास गर्ने हो। भदौ २३ र २४ पछि नयाँ परिस्थिति आयो। नयाँ पार्टी खोल्न र अध्यक्ष बन्न प्रस्ताव आएका थिए,’ उनले भने, ‘तर म १४ वर्षदेखि झन्डा बोकेको पार्टी सुधार्न र बदल्न यहीँ अडिग भएर बसेको हो। सायद यो हलमा बसेका सबै साथीहरू पनि यही सोचले बस्नुभएको छ।’
थापाले कांग्रेसभित्र रहेका नेता तथा कार्यकर्ताको संघर्ष र योगदानलाई पार्टीले बुझ्नुपर्ने बताए। देशभर कांग्रेससँग जोडिएका संघर्ष र पीडाका कथा रहेको उल्लेख गर्दै उनले कांग्रेसलाई एउटा परिवारका रूपमा बुझ्नुपर्ने बताए।
‘कम्तीमा सबैलाई बोध हुनुपर्छ, कांग्रेस एउटा परिवार हो। परिवारभित्र निर्णय गर्ने जिम्मेवारी कसले लिने भन्ने मात्रै हो,’ उनले भने, ‘यसकारण सबैको हक बराबर छ। मेरो र भुइँमा बस्ने कांग्रेसको अधिकार एउटै हो। खाली नेतृत्व भनेको समय तोकेर पाउने हो।’
पार्टीको सार्वभौम शक्ति तलका कार्यकर्ता र शुभेच्छुकसँग रहेको बुझाइमा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ।
‘सार्वभौम शक्ति तल कार्यकर्तामा छ। शुभेच्छा राख्नेहरूसँग छ। यो बुझाइमा बदलाव ल्याउनुपर्ने छ,’ उनले भने, ‘यो घरभित्रको कुरा हो। घरभित्र हामी के गरिरहेका छौँ भन्ने कुरा बाहिरकालाई खासै मतलबको कुरा होइन।’
थापाले पछिल्लो समय सामाजिक सञ्जाल र सूचनाको पहुँच विस्तारसँगै समाज तीव्र रूपमा परिवर्तन भएको बताए। कांग्रेसको महाधिवेशनलाई गाउँमा बसेर हेरिरहेका मानिसले समेत पार्टीबारे आफ्नो धारणा बनाइरहेको उनको भनाइ छ।
‘अहिले कांग्रेसको बारेमा गाउँमा बस्नेले यो महाधिवेशन हेरेर निर्णय गरिसकेको छ। समाज यसरी बदलिएको छ,’ उनले भने, ‘अहिले अल्गोरिदमले यस्तो गरिसक्यो, चेम्बरभित्र राखिदिएको छ। जे सोच्यो त्यही बनाइदिएको छ।’
पुराना राजनीतिक दलप्रति वितृष्णा बढेर मानिसहरू नयाँ विकल्पतर्फ गएको उल्लेख गर्दै थापाले अब कांग्रेसले जनताबीच आफ्नो सान्दर्भिकता र विश्वास पुनः स्थापित गर्नुपर्ने बताए।
‘पुराना पार्टी चाहिँदैन भनेर छाडेर गएको अवस्था छ। अब यहाँबाट फर्केर गएपछि धेरै चुनौती आएका छन्,’ उनले भने, ‘यस्तो बेलामा पुरानो र ऐतिहासिक पार्टीलाई जनताबीच सान्दर्भिकताको विश्वास दिलाउनुपर्ने छ। कसरी दिलाउने, अब यही चुनौती चिर्ने जिम्मेवारी यही महाधिवेशनमा आउनुभएकाहरूको हो।’
नेपाल अहिले युवा जनसंख्या भएको देश भएकाले युवाको सोच र अपेक्षालाई पार्टीले बुझ्नुपर्ने थापाले बताए।
‘नेपालको इतिहासमा यति धेरै युवा भएको देश अहिले नेपाल युवा छ। अहिले जापान, युरोपमा बुढ्यौली आएको छ। यसकारण अहिले नेपालका युवाहरू सोच कुर्ने अवस्थामा छैनन्,’ उनले भने।
बन्दसत्रमा आफूले अपेक्षा गरेजस्तो छलफल हुन नसकेको स्वीकार गर्दै थापाले आफ्नो राजनीतिक प्रतिवेदन अध्ययन गरेर सुझाव दिन प्रतिनिधिहरूलाई आग्रह गरे।
‘बन्द सत्रमा हामीले सोचेजस्तो छलफल हुन सकेन। तर चुनावमा ध्यान भएर पनि होला। यो प्रतिवेदन फर्केर पढ्नुहोला,’ उनले भने, ‘कांग्रेसले सोच्ने विचार, यी सबै विषय राखिएको छ। यहाँबाट फर्केपछि यो दस्तावेजलाई तीन खण्डमा पेश गरेको छु। सबै अध्ययन गर्नुहोला।’
उनले प्रतिनिधिहरूले प्रतिवेदन अध्ययन गरेर आगामी ८–१० दिनभित्र सुझाव दिने अपेक्षा राखेको बताए। महाधिवेशनपछि कांग्रेस नयाँ ढंगले अघि बढ्ने उनको भनाइ छ।
‘यो अधिवेशन सकिएपछि नयाँ ढंगले जाने छ। पार्टीका कुरामा धेरै अलमलिने होइन। मेरो २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा जाने हो, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने हो,’ थापाले भने, ‘यो कोठाभन्दा बाहिर जानुपर्ने छ।’
उनले महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत पार्टीमा फर्किन आग्रह गरे। पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरूको सहयोग रहेको उल्लेख गर्दै थापाले अदालतमा जाने क्रम रोक्न आग्रह गरे।
‘आदरणीय पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरूको ठूलो सहयोग छ। यसकारण फर्कनुहोस्, यो अदालत जाने काम बन्द गर्नुहोस्। यो समयको बर्बादी मात्रै हो,’ उनले भने, ‘विशेष महाधिवेशन भयो, फरक धारणा भयो। म अदालतको फैसला मान्छु भनेको हो। तपाईंहरूले पनि मान्नुपर्ने हो।’
पार्टीभित्र अब यही विषयलाई लिएर गुनासो र विवादमा अल्झिन नहुने उनको भनाइ छ। ‘अब यही विषय लिएर गनगन गरिराख्ने र अलमलिने कुरा हुँदैन। मिलाउने ठाउँमा मिलाउँला। अब पार्टीको रेल अगाडि बढ्यो,’ उनले भने, ‘जाने, सरासर पार्टीको नियमअनुसार लाग्ने, अगाडि बढ्ने हो।’
थापाले महाधिवेशन आयोजना गर्ने क्रममा केही कमजोरी भएको पनि स्वीकार गरे। विशेषगरी सदस्यताको विषयमा भएका केही निर्णयका कारण समस्या आएको र अदालतका निर्णय कार्यान्वयन गर्दा कतिपय क्षेत्रमा समस्या देखिएको उनले बताए।
‘अधिवेशन गर्ने क्रममा केही कमजोरी भएको छ। सदस्यताका विषयमा केही निर्णयले गर्दा समस्या भयो। अदालतले दिएको निर्णय गर्दा चापले गर्दा कतै क्षेत्रमा समस्या आएको छ,’ उनले भने, ‘यो समाधान हुन्छ। अन्याय भएको भए त्यो समाधान हुन्छ।’
महाधिवेशनको निर्वाचनमा ठूलो संख्यामा उम्मेदवार रहेकाले अझै उम्मेदवारी फिर्ता लिन थापाले आग्रह गरे। निर्वाचनमा जित्नेभन्दा हार्नेको संख्या धेरै हुने भएकाले पार्टीभित्रको प्रतिस्पर्धाको प्रणालीबारे पनि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।
‘निर्वाचन कार्यतालिका छ। ८ सय ३० जना प्रतिस्पर्धा छ। समय अझै बाँकी छ, फिर्ता लिनुस्, अझै म आग्रह गर्छु,’ उनले भने, ‘जित्नेको संख्या थोरै, हार्नेको संख्या धेरै हुने भयो। यो विषयमा पनि अब चेन्ज गर्ने बेला भएको छ।’
उनले पार्टी सदस्यताको विषयमा पनि समाधान खोजिने बताए। वडादेखि नै सभापति चयन गर्ने गरी पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने उनको धारणा छ।
‘अब तलैबाट केन्द्रको सभापति छान्छ। वडाबाटै भोट हालेर छान्छ,’ उनले भने, ‘जताततै हार्ने र जित्ने गरेर विवाद भएको छ। सबैले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने होइन, सबैले चुनाव लड्नुपर्छ भन्ने पनि होइन।’
थापाले विधान संशोधन कुनै नेताको व्यवस्थापनका लागि नगरिएको स्पष्ट पारे। उनले पार्टीमा रहेका पाँच पुस्तालाई जोड्ने र लामो समयदेखि रहेको सांगठनिक ‘जाम’ खुलाउने उद्देश्यले विधान संशोधन गरिएको बताए।
‘नेता व्यवस्थापन गर्न विधान संशोधन गरिएको होइन। पार्टीमा भएका पाँच पुस्तालाई जोड्न र पार्टीभित्रको जाम खुलाउनका लागि विधान संशोधन गरिएको हो,’ उनले भने।