२०८३, आश्विन २१ गते

Switch TV Mode

बुधवार, आश्विन २१ गते २०८३

मलेसिया रोजगारी खुलाउन सरकारसँग व्यवसायी संघको सातबुँदे माग

सोमवार , आश्विन १९, २०८३

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीका लागि योग्य सबै नेपाली म्यानपावर कम्पनीलाई फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा समान रूपमा समावेश गरे आफूहरूलाई मान्य हुने जनाएको छ । 

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले मलेसिया रोजगारीका लागि सूचीकृत सबै म्यानपावर कम्पनीलाई एफडब्लूसीएमएसमा समान अवसर दिइए अहिले देखिएको विवाद समाधान हुने बताए।

'एफडब्लूसीएमएस' मा सबै म्यानपावर कम्पनीलाई समावेश गरिए समस्या समाधान हुन्छ। सबैलाई समान रूपमा अवसर दिइए हामीलाई मान्य हुन्छ,’ उनले भने।

संघले आफू कुनै प्रणालीको विरोधमा नभई वैदेशिक रोजगार व्यवसायमा समान अवसर र पारदर्शिताको पक्षमा रहेको जनाएको छ। मलेसिया रोजगारी खुलाउने नाममा सीमित म्यानपावर कम्पनीलाई मात्र अवसर दिने वा निजी प्रणालीमार्फत एकाधिकार कायम गर्ने व्यवस्था स्वीकार्य नहुने संघको भनाइ छ। संघले मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि सरकारसमक्ष सातबुँदे माग अघि सारेको छ । 

यस्ता छन् संघका सातबुँदे माग

१. श्रम गन्तव्य मलेसियामा रोजगारी तत्काल कुशल कूटनीतिक संवादमार्फत कानुनसम्मत र नियमित प्रक्रियाबाट सुरु गरिनुपर्ने।
२. कुनै पनि निजी कम्पनी वा सीमित संस्थालाई नेपालको वैदेशिक रोजगार बजारमा एकाधिकार दिने व्यवस्था स्वीकार गर्न नहुने।
३. नेपाल सरकारबाट वैधानिक इजाजत प्राप्त सबै म्यानपावर कम्पनी तथा सम्बन्धित संस्थालाई समान अवसरको सुनिश्चितता गरिनुपर्ने।

४. एफडब्लूसीएमएसमा सूचीकृत संस्थालगायत सम्पूर्ण प्रणालीको कानुनी आधार, स्वामित्व, आर्थिक कारोबार, शुल्क संरचना र लाभग्राहीबारे पारदर्शी छानबिन गरिनुपर्ने।

५. नेपाल सरकारको कानुनभन्दा माथि कुनै विदेशी निजी प्रणाली वा संस्था हुन नहुने।

६. सिन्डिकेटको पक्षमा राज्य संयन्त्र, राजनीतिक नेतृत्व, कर्मचारी वा अन्य प्रभावशाली माध्यमबाट दबाब सिर्जना भएको भए त्यसबारे निष्पक्ष अनुसन्धान गरिनुपर्ने ।

७. नेपाली श्रमिकको लागत घटाउने, पारदर्शिता बढाउने तथा सुरक्षित र सम्मानजनक वैदेशिक रोजगार सुनिश्चित गर्ने प्रणाली निर्माण गरिनुपर्ने।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार