२०८३, भाद्र १० गते

Switch TV Mode

बुधवार, भाद्र १० गते २०८३

‘नागरिकहरुको बली’देखि ‘अमेरिका’सम्म : सभामुखको निर्णयमाथि प्रश्नैप्रश्न

बुधवार , भाद्र १०, २०८३

-भगवती न्यौपाने

सभामुखज्यू, सोध्नैपर्ने भयो, यो के गर्नुभएको ? तपाईंले केही असंसदीय शब्द भनेर केही शब्द तथा वाक्यहरुलाई प्रयोगमा निषेध गर्नुभएको छ । तपाईंले ‘नागरिकहरुको बली’ भन्ने दुई शब्दको वाक्यलाई के कारणले असंसदीय घोषणा गर्नुभयो ?
अहिले सत्तामा बसेको समूहले गत वर्ष भदौ २३ र २४ मा नागरिकहरुको बली चढाउने काम गर्यो भन्ने हाम्रो दृष्टिकोण छ । सांसद रामबहादुर थापाले यही सन्दर्भमा नागरिकहरुको बली भन्नुभएको थियो । त्यसलाई असंसदीय घोषणा गर्नुभयो ।
मलाई थाहा छ, तपाईं तथा तपाईंहरु त्यो नागरिक बलीका लागि आफ्नो कित्तालाई जिम्मेवार ठान्नुहुन्न, हाम्रो कित्तालाई दोष दिनुहुन्छ । ल ठिक छ, तपाईंहरु हामीलाई दोष दिनुहुन्छ, हामी तपाईंहरुलाई दोष दिन्छौं । तर, तपाईं सभामुखको कुर्सीमा हुनुहुन्छ । निष्पक्ष र तटस्थ हुनुपर्छ । कमसेकम छलफललाई निषेध गर्न मिल्दैन । एउटा पक्षले आफ्नो आरोप र दावी प्रस्तुत गर्न पाउने, अर्काे पक्षले नपाउने भन्ने पनि हुन्छ र ?

अहिले सत्तामा बसेको कित्ताले नागरिकहरुको बली चढाएको भन्न पाइँदैन होइन त ? त्यसो भए प्रतिनिधिभामा तपाईंको कित्ताका सांसदहरुले व्यक्तिको नाम नै किटेर हत्यारा भन्दा किन चुप बस्नुभयो ? त्यो भनाईलाई किन असंसदीय घोषणा गर्नुभयो ? म प्रश्न गर्छु, अहिले एउटा झुण्डले संसद् वैठक स्थल आक्रमण गर्न आयो भने यो सरकारले के गर्छ ? अनि, हत्यारा भन्दै केपी शर्मा ओली र रमेश लेखकलाई अहिलेको कित्ताले पक्राउ गरेको थियो । आरोप पुष्टि गर्न सकेन, कतिसम्म भने मुद्दा चलाउने आधार समेत पाएन । नागरिकहरुको बलि चढाउने काम केपी ओलीको कित्ताले गरेको होइन, अर्काे कित्ताले गरेको हो भन्ने पुष्टि भइसकेन र ? तैपनि किन त्यो कित्तालाई लगाइएको नागरिकहरुको बलि वाक्यांशलाई असंसदीय घोषणा गर्नुभयो ?

मैले नबुझेको अर्काे कुरा, नेपालमा विदेशी हस्तक्षेपको जहिलेतहिले विरोध हुन्छ र हुने गरेको इतिहास छ । रामबहादुर थापाले अमेरिकी हस्तक्षेपको कुरा उठाउँदा तपाईंलाई किन आपत्ति ? नेपालमा नर्थ कोरिया र पाकिस्तान मोडल मात्र होइन अन्य विभिन्न खालको मोडल लाद्ने प्रयास भइरहेको छ । त्यही प्रयास अन्तर्गत अहिले विभिन्न पात्रलाई सत्तामा पुराइएको छ भन्ने प्रष्ट छ । नेपालमाथि लाद्न खोजिएको पोलिटिकल मोडलको संसदमा चर्चा गर्न किन नपाइने सभामुखज्यू ? अँ, अमेरिकी हस्तक्षेपको विरोध गरेको कुरा पनि तपाईंले सहनुभएन । रामबहादुर थापाले भनेको अमेरिका शब्द नै हटाइदिनुभएछ । यो के गरेको ? कसलाई खुसी पारेको ? कि चोरको खुट्टा काट भन्दा चोरले खुट्टा लुकाएजस्तो हो ?

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार